भदौंको सुरुवात नेपाली चलचित्रक्षेत्रका लागि केही आशलाग्दो देखिएको थियो । भदौंको सुरुवातमा नै एकै मितिमा दुई चलचित्र प्रदर्शनमा आएका थिए, ‘चपली हाईट २’ र ‘वीर विक्रम’ । यि दुवै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको बताइएको छ । त्यसपछि प्रदर्शनमा आएका अन्य चलचित्रहरुले खासै सुखद व्यापार गर्न सकेनन् । अनि लाग्यो भदौ २४ । यो मितिमा सोलो रिलिजको मौका पायो चलचित्र ‘छक्का पन्जा’ ले । ‘छक्का पन्जा’ ले आफ्नो लगानी मात्र होइन कयौं रेकर्ड ब्रेक गर्दै बोराका बोरा पैसा बटुल्न सुरु गर्यो । दैनिक सिनेमा घरहरुमा ‘छक्का पन्जा’ हेर्न दर्शकहरुको महासागर नै लागिरहेको बेला भदौ ३१ गते दुई चलचित्र प्रदर्शनमा आए तर ‘छक्का पन्जा’ को अगाडी दुवै चलचित्र फ्ल्पको सूचीमा दर्ता भए । केही आश थियो चलचित्रकर्मीहरुलाई भदौ ३१ गते प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ बाट तर कमजोर कथावस्तुका कारण ‘गाँठो’ दुई दिन पनि हलमा टिक्न सकेन ।
त्यसपछि प्रतिक्षित मानिएको चलचित्र ‘झुम्की’ असोज ७ गतेबाट प्रदर्शनमा आयो तर यो चलचित्रले पनि ‘छक्का पन्जा’ को अगाडी कमाल गर्न सकेन । यही बिच चलचित्र ुछक्का पन्जाु चौथो हप्तामा लाग्यो र असोज १४ गते चलचित्र ‘सफर’ र ‘सत्यदीप’ ले प्रदर्शन आरम्भ गरे । यि दुई चलचित्रले पनि घरेलु बक्सअफिसमा हावा खाए ।
त्यसपछि लाग्यो असोज २१ अनि प्रदर्शन भए २ चलचित्र । ‘किस्मत २’ र ‘सुब्बा साब’ ले असोज २१ गते एकसाथ प्रदर्शनमा आएपनि किस्मत २ ले भने अहिले राम्रै विजनेश गरिरहेको छ । किस्मत २ को अगाडी अहिले सुब्बा साबले भने कमाल गर्न सकेको छैन । किस्मत २ ले भने घरेलु बक्सअफिसमा अहिले कमालकै व्यापार गरिरहेको छ । वितरकको भनाई अनुसार भदौंमा प्रदर्शनमा आएको चलचित्र छक्का पन्जापछि किस्मत २ ले राम्रो विजनेश गरेको छ । अहिले पनि हलमा चलचित्र छक्का पन्जा चलिरहेको अबस्थामा पनि किस्मत २ को विजनेश भने उच्च रहेको वितरकले बताए । छविराज प्रोडक्शनको व्यानरमा निर्माण भएको चलचित्र किस्मत २ मा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइँ, किशोर खतिवडा लायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रलाई ऋषी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र किस्मत २ सफल भएपछि अहिले निर्माता छविराज ओझा ‘हिफाजत २’ को निर्माणमा जुटेका छन् । दशैं सकिए लगत्तै फ्लोरमा जाने तयारी भइरहेको चलचित्र हिफाजत २ मा नायिका शिल्पा पोख्रेलको लगानी र अभिनय रहनेछ ।