केही दिनदेखी सामाजिक सञ्जालमा तरकारीवाली नामले कुसुम श्रेष्ठका दुई तस्बिरहरु अहिले राम्रै भाइरल बनिरहेका छन् । धेरै सञ्चारमाध्यमहरुले अहिलेसम्म कुसुम भन्दा राम्री तरकारीवाली नभएको भन्दै समाचार प्रकाशन गरिरहेका छन् भने धेरैले विश्वकै सबैभन्दा सेक्सी तरकारीवाली भन्दै कुसुमको चर्चा पनि भइरहेको छ । दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी कुसुमको तस्बिर पर्यटन ब्यबसायी रुपचन्द्र महर्जनले खिचेका थिए र फेसबुकमा पोष्ट गरेका थिए । त्यसपछि त उनको चर्चा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भन्दा कम छैन । अझ उनले एक अन्तर्वार्तामा राम्रो चलचित्रबाट अफर आए काम गर्ने पनि बताएपछि अझ उनी राम्रै चर्चामा आएकी थिइन् । उनले अफर आए नेपाली चलचित्रमा काम गर्ने बताएपछि अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागि नेपाली निर्माताहरु पनि सक्रिय देखिएका छन् । यही विच उनलाई निर्देशन गोपालचन्द्र लामिछानेले आफ्नो नयाँ चलचित्र ‘लम्फू’ मा अभिनय अफर गरेका छन् । पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फूका लागि अहिले कुसुमसँग कुराकानी भइरहेको निर्देशक लामिछानेले जानकारी दिए । उनले भने -‘हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं । कुसुमजीसँगै कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।’
गोर्खा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा क्वेष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन् । चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । अब हेर्न यो बाँकी छ कि सामाजिक सञ्जाल फेसबुकमा जसरी उनको सुन्दरताको तारिफ भयो यदी चलचित्र ‘लम्फू’ मा उनले काम गरिन् भने उनको अभिनयको चाहिँ कत्तिको तारिफ हुने हो ।