शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनिबार मल्टिप्लेक्स र सिंगल स्क्रिनहरुमा हाउसफूल विजनेस गरकेो छ । समिक्षकको प्रशंसा र माउथ पब्लिसिटीका कारण पनि दर्शकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् ।
शुक्रबार राजधानीमा मल्टिप्लेक्सहरुमा बिहानी र दिउँसोको शो मा ६० प्रतिशत तथा रात्री शो मा ८० प्रतिशतको आसपासमा अकुपेन्सी रहेको बताइएको छ । सिंगल स्क्रिनमा पनि फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् ।
फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताएका छन् । यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् । पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र झाको अभिनयले पनि दर्शकको मन तान्ने निश्चित छ । पछिल्लो समय क्युट नायिकाको रुपमा चर्चा बटुलेकी वर्षा राउत पनि यस फिल्ममा फरक रुपमा प्रस्तुत भएकी छिन् ।