भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले ५१ औं दिन मनाइसकेको खुसी साट्दै गर्दा कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको अर्को कमेडी चलचित्र ‘जात्रा’ ले पनि अहिले लोभलाग्दो विजनेश गरिरहेको छ । प्रदर्शनमा आएको एक हप्ता नपुग्दै चलचित्र ‘जात्रा’ को विजनेश करोड माथी रहेको निर्माणपक्षले जानकारी दिएको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ ले वुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको चलचित्र वितरक माधव वाग्लेले जानकारी दिए । भोली शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गर्ने जात्राले सिंगल र मल्टिप्लेक्स हलहरुमा उल्लेख्य संख्यामा दर्शकहरु भित्राइरहेको छ । मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि वितरक वाग्लेले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको राम्रै उपस्थिती रहेको छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपिनुका साथै दर्शकको उपस्थिति क्रमश बाक्लिदै गरेकाले निर्माण पक्ष उत्साहित देखिएको छ । ‘जात्रा’ लाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको यो चलचित्रमा वपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ ।