लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, उनको विषयमा हामीले धेरै कुरा भन्नै पर्दैनन् । चलचित्र ‘बधशाला’ बाट ठूलो पर्दामा छाएका लामिछानेको चलचित्र यात्रा त्यति लामो नभएपनि रंगमञ्चमा भने उनी सन् १९९९ बाटै सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाईसकेका उनले अतिथि निर्देशकको भूमिकामा रहेर ‘पानीफोटो’ र ‘अटलबहादुरको कथा’ नामक नाटकको निर्देशन गरेका छन् । उनीद्धारा अभिनित पहिलो चलचित्र ‘बधशाला’ ले राम्रै चर्चा बटुलेको थियो । त्यसपछि उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ चलचित्रमा पनि अभिनय गरे । यो चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । चाँडै ‘धनपती’ चलचित्रमा अभिनय गर्न लागेका खगेन्द्रले यो चलचित्रको कथा पनि आफैले लेखिरहेका छन् ।
उत्कृष्ट लेखक भनेर समेत चिनिने खगेन्द्रले गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘पशुपति प्रसाद’ बाट यस बर्ष उत्कृष्ट पटकथा लेखन विधामा राष्ट्रिय चलचित्र पुरस्कार, फान अवार्ड, एलजी फिल्म अवार्ड, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार, डि सिने अवार्ड र इनास फिल्म अवार्ड जितिसकेका छन् । तर खगेन्द्र कुनै पनि अवार्ड कार्यक्रममा आफुले पाएको अवार्ड समात्न गएनन् । आयोजकले अवार्डमा सहभागी हुनका लागी निमन्त्रण गरेपनि खगेन्द्रले कुनै पनि अवार्डमा पुगेर आफुले पाएको अवार्ड समातेनन् । उनले पाएको अवार्ड ‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालले समात्ने गर्थे । नेपालमा अझै २ ठूला भनिएका अवार्ड आयोजना हुन बाँकी छन् । ति हुन् कामना अवार्ड र नेफ्टा फिल्म अवार्ड । यि दुई अवार्डमा पनि खगेन्द्र ‘पशुपति प्रसाद’ बाट उत्कृष्ट कथा विधाको मनोनयमा परेका छन् । यि दुई अवार्ड पनि खगेन्द्रकै हातमा पर्नेमा दुई मत छैन तर उनी आफुले पाएको अवार्ड समेत लिन नजानुले चाहिँ धेरैलाई अचम्मित पार्ने गर्छ । अन्य प्राइभेट कम्पनीहरुले आयोजना गर्ने अवार्ड कार्यक्रममा खगेन्द्रले सहभागीता नजनाएपनि उत्कष्ट लेखन विधामा पाएको राष्ट्रिय चलचित्र पुरस्कार थाप्न समेत उनले आफ्नी श्रीमतीलाई पठाएका थिए । राष्ट्रपतिको हातबाट प्रदान गरिने अवार्ड समेत समात्न नपुगेका खगेन्द्रलाई अवार्डप्रति खासै चासो नभएको देख्न सकिन्छ । खगेन्द्र चलचित्र ‘पशुपतिप्रसाद’ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा पनि परेका थिए तर उनले यस विधाबाट भने यस बर्ष कुनै पनि अवार्ड हात पारेनन् । तर उनले पटकथाको विधामा भने यस बर्ष एकलौटी राज गरेका छन् ।