पौष १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर्पण’ ले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएको छ । चलचित्रका निर्माता र कलाकारसहितको टोलीले पोखराबाट आफ्नो देश दौडाहाको प्रचारात्मक अभियान शुरु गरेका छन् ।
फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको प्रचार टोलीले बिहीबार पोखरामा पत्रकारसँग अन्तरक्रिया गरेको छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म प्रचार अभियान सुरु गरेको चलचित्रका प्रस्तुतकर्ता रोजन रखालले बताए ।
‘चलचित्रले युवापुस्तालाई लक्षित गरेको छ, युवाले के चाहन्छन, कस्तो रुचाउँछन, जीवनमा के कस्ता घटना भोगेका हुन्छन् भन्ने कुरामा पर्दामा ल्याउन खोजिएको छ,’ उनले भने, ‘चलचित्रले नयाँ पिढी युवायुवतीको प्रतिनिधित्व गर्छ । हामीले चलचित्रलाई आकर्षक बनाउनको लागि बंगलादेशको रमणिय दृश्य पनि कैद गरेका छौं ।’
देश दौडाहा टोलीमा निर्माता रखालसहित चलचित्रका प्रमुख कलाकारहरु रहेका छन् । निर्माता रखालका अनुसार पोखरापछि बुटवल, धनगढी, चितवन, हेटौडा, रौतहट, सर्लाही, दमक र धरानमा चलचित्रको प्रमोशन हुनेछ ।
बसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा रोजन रखाल, रन्जु शर्मा, रुवी शर्मा, अमृत शाही ठकुरी, प्रयास तामाङ, विश्वास तामाङ, आशा भुसाल, अनु पराजुली, दीपक थापा, कुमार श्रेष्ठ, बालकृष्ण बन्झरा र ज्योति काफ्लेको अभिनय रहेको छ ।
चलचित्रमा बंगलादेशी नागरिक इमरान सिद्धिकीको पनि लगानी रहेको छ भने टिकाराम रखालको लेखन, कुमार महर्जनको द्धन्द्ध, दीव्य सुवेदी र जयकुमार दर्लामी मगरको छायांकन छ ।