चलचित्र क्षेत्रमा चर्चा र विवाद हुनु भनेका सामान्य कुरा हुन् । यहाँ आफुलाई चर्चित बनाउन र आफ्नो चलचित्र चलाउनका लागि अनेकौ बखेडा निकाल्ने गरिन्छ । अझ नायिकाहरुलाई हतियार बनाएर निर्माताहरू चलचित्र चलाउनका लागि त दिलोज्यान नै दिन्छन् । हिरोइनका लागि लगानी गर्न कञ्जुस्याइँ गर्ने निर्माताहरू चलचित्र चलाउनका लागि भने उनीहरुलाई हतियार बनाइरहेका छन् ।
चलचित्र क्षेत्रमा आउने थुप्रै महिला कलाकार विभिन्न निर्माता र निर्देशकसँग नाम जोडिएर बन्ने गसिपका कारण पीडित छन् । चलचित्रकै हिरोसँग हिरोइनको अफेयर चलेको हल्ला पिट्नसमेत निर्माताहरू पछि पर्दैनन् ।
त्यसो त निर्माता छविराज ओझा यो मामिलामा अगाडि छन् । चलचित्र लज्जा, हवल्दार सुन्तली र किस्मत २ को रिलिजताका अभिनेत्री शिल्पा पोखरेल र उनको नाम जोडिएर थुप्रै गसिप बनेका थिए । त्यो गसिप बन्नुमा उनकै हात थियो । लज्जा र हवल्दार सुन्तली रिलिजताका शिल्पाले यस विषयमा स्पष्टीकरण नै दिएकी थिइन । उनले भनेकी थिइन ‘आफ्नो बाउसमानको मान्छेसँग बिहे हुन सक्दैन’ तर किस्मत २ रिलिजताका भने शिल्पाले छविराज ओझासँग बिहे गर्ने लगभग पक्का भएको पनि बताइन । आखिर के थियो यर्थाथ त्यो भने उनीहरुलाई नै थाहा होला तर आफ्नो चलचित्र चलाउनका लागि निर्माता छविराज ओझा नायिकाहरुलाई हतियार बनाउन भने पछि हट्दैनन् । छविराज ओझा मात्र होइनन् नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै निर्माता निर्देशकहरु छन्, जो नायिकाहरुलाई मात्र चलचित्र चलाउने हतियार बनाउँछन् । यसका पछाडि सामाजिक, आर्थिक र पहिचानको सुरक्षाका कुरा पनि जोडिन्छन्। हामीकहाँ लैंगिक विभेद महिला र पुरुष दुवैमा छन्। तर, बढी प्रताडित महिला छन्। हाम्रो समाजले महिलालाई चलचित्र क्षेत्रमा व्यावसायिक रूपमा लाग्न अभिप्रेरित गरेको अवस्था अझै छैन। त्यसो भएपछि उनीहरूलाई यही विषयमा अध्ययन–अध्यापन गर्न परिवारबाट अनुमति नहुने नै भयो। जसकारण थुप्रै नयाँ अनुहारहरू लुकेर र जबर्जस्ती यो क्षेत्रमा आइरहेका छन्। गलत बाटोबाट प्रवेश गरिरहेका छन्। प्राविधिक र सामाजिक रूपमा दक्ष मानिसहरू यो क्षेत्रमा प्रवेश गरिरहेको अवस्था एकदमै न्यून छ। अदक्ष भएर आएका कारण नयाँ नायिकाहरू यौन शोषणबाट पीडित पनि भइरहेका छन्।
हिरोइनहरू आज चलचित्र खेल्छन्, भोलि पुराना हुन्छन् भन्ने सोच निर्माता र निर्देशकमा एकदमै हाबी भइरहेको छ। चलचित्रका लागि हिरो खोज्न दुःख गरिन्छ, हिरोइन खोज्न गरिँदैन। हिरोइन त जसलाई लिए पनि हुन्छ भन्ने सोच हावी छ निर्माताहरुमा त्यसैले पनि उनीहरुलाई बारम्बार चलचित्र चलाउनका लागि हतियार मात्र बनाउने गरिन्छ । तर, उनीहरूका कारण चलचित्र चल्छ भन्ने मानसिकता निर्माताहरूमा देखिँदैन्। हिरोइनका कारण चलचित्र चल्ने होइन क्यारे, १०/१५ हजार दिए खेलिहाल्छन्, नयाँ लिउँ भन्ने मानसिकता एकदमै धेरै छ। चलचित्र क्षेत्रमा निर्माता वा निर्देशकले आफ्नो गर्लफ्रेन्ड अलिअलि राम्री भए ल्याएर हिरोइन बनाइहाल्ने प्रवृत्ति पनि छ। हिरोइन हुन आउने युवतीहरू आफू उक्त क्षेत्रका लागि कति उपयुक्त छु र कहाँसम्म पुग्न सक्छु भनेर आँकलन गर्दैनन्। कसैले बनाइदिन्छु भन्दा बनिहाल्छन्। त्यसपछि निरन्तर बनिरहन उनीहरूलाई विभिन्न सम्झौता गर्ने बाध्यता आइलाग्छ। अनि निर्माताले जसो भन्छन् त्यसै गर्न बाध्य हुन्छ नायिकाहरु । चलचित्र चलाउनका लागि निर्माताहरुले नायिकाहरुलाई हतियार बनाएपनि यस विषयमा अहिलेसम्म कुनै पनि नायिकाहरुले आवाज उठाएका छैनन् । जबसम्म यस्ता कुराहरुमा नायिकाहरु स्वयंले आवाज उठाउँदैनन् तबसम्म निर्माताहरुले नायिकाहरुलाई चलचित्र चलाउने हतियार मात्र बनाइरहनेछन् । चलचित्र चलाउनका लागि निर्माताहरुले गर्ने विभिन्न फण्डाहरुले भविष्यमा कस्तो असर गर्ला भन्ने तर्फ सोच्न थाल्ने हो भने नायिकाहरु निर्माताहरुको चलचित्र चलाउने हतियार बन्न सक्दैन थिए कि ? अब यस तर्फ नयाँ नायिकाहरुले बढी सोच्नु पर्ने देखिन्छ ।