चाँडै छायाँकनमा जाने तयारी भइरहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ का लागि अहिले नायक पल शाहले दैनिक ४ घण्टा द्धन्द्ध निर्देशक पारस विक्रम शाहसँग एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । हालै निर्माण कम्पनी योर स्टाईलले यूटयुबमा अपलोड गरेको भिडियोमा पल शाहलाई द्धन्द्ध निर्देशक पारस विक्रम शाहले तामिल दिइरहेको देख्न सकिन्छ । भिडियोमा पलले विशेषत एक्शन दृश्यका लागि तामिल लिइरहेका छन् । अहिलेसम्म स्ट्रिक नचाएका कारण तालिमको क्रममा केही चोट लागेको पनि भिडियोमा पलले बताएका छन् । उनले भिडियोमा भनेका छन्, ‘मलाई द्धन्द्ध निर्देशक पारस विक्रम शाहले राम्रो तामिल दिनुभएका कारण अहिले मलाई केही हदसम्म भएँ पनि स्ट्रिक चलाउन आउँछ ।’
उनले चलचित्र ‘जोनी जेन्टलम्यान’ बाट धेरै आश गरेको पनि बताएका छन् । म्यूजिक भिडियोबाट सर्वाधिक लोकप्रियता कमाएका पल र भिडियो निर्देशनमा अब्बल ठहरिएका नीतिन चन्द पुराना साथी हुन् । उनीहरुले सँगै मिलेर दर्जन बढी म्यूजिक भिडियो तयार पारिसकेका छन् । ‘नाइँ नभन्नू ल ४’ बाट नायकको रुपमा भित्रिएका पल र ‘नाइँ नभन्नू ल ४’ मा नायिकाको भुमिका निर्वाह गरेकी आँचल शर्मा यो चलचित्रका मुख्य कलाकार हुन् ।
नीतिन चन्दले निर्देशन गर्ने यो चलचित्र लभस्टोरी, कमेडी र एक्शन प्रधान हुने बताइएको छ । चलचित्रमा पल जोनी देखी जेन्टलम्यान कसरी बन्छन् भन्ने देखाउन खोजिएको निर्देशक चन्द बताए । हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रलाई एन्ड्रिउ पौडेलले निर्माण गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्माता अजय मल्ल हुन् ।