धेरै बर्ष अगाडीको कुरा होइन, आजभन्दा ठिक एक बर्ष अगाडी नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीको प्रेम चर्चाले नेपाली सिनेवृत नै राम्रै गर्माएको थियो । प्रेममा रहँदा आफुलाई आमेशको सबै मन पर्छ भन्न समेत नछोडेकी नीता र नीताको दुई मृगौला मध्ये एक फेल भए आफ्नो एक मृगौला दिने बताएका आमेशको प्रेम ४ बर्षको यात्रामा नै पूर्णविराम लागिसकेको छ ।
त्यस बेला यस्तो लाग्थ्यो उनीहरुको प्रेम साँच्चै परेवाको जोडी भन्दा कम छैन । तर, अब नीता र आमेशको प्रेमकथा एकादेशको कथामा मात्र सिमिति भएको छ । किनकी अहिले यो परेवाको जोडीको प्रेम खोलाको दुई किनार भइसकेका छन् । आमेश र नीताले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ जब असफल भयो त्यसपछि उनीहरुको सम्बन्ध चिसिएको खबर पनि एकपटक राम्रै चलेको थियो । तर, यो कुरा आमेश र नीताले लुकाउँदै आएका थिए ।
तर, ब्रेकअप भएपछि नायिका नीता ढुंगानाले भने पहिलो पटक एक मिडियासँग अन्तर्वार्ता दिँदै आफु आमेशबाट टाढा भइसकेको बताएकी छिन् । ‘झण्डै ४ बर्ष लामो प्रेम सम्बन्ध हाम्रो टुंगिसकेको छ । अहिले म काम नै फोकश छु । प्रेम सम्बन्धमा रहँदा काम गर्न मन नलाग्ने, कामहरु पनि केही न केही कारणले ठुक्राए त्यसैले पनि त्यो बेला म केही ब्याक भएको थिएँ । अहिले चाहिँ म काममा नै फोकश छु । अहिले आएर ब्बायफ्रेण्डभन्दा पनि काम नै ठूलो रहेछ भन्ने थाहा पाएँ ।’ उनले भनिन । कुराकानीको क्रममा उनले ब्रेकअप भएको झण्डै २ महिनासम्म आफु मर्नु न बाँच्नु अबस्थामा पुगेको पनि बताएकी छिन् । उनले अगाडी भनिन्, ‘ब्रेकअप भएपछिका २ महिना मैले कसरी कटाएको छु त्यो मलाई नै थाहा छ । तर, म सम्हालिए । मैले सोचे कि मेरी आमाले संसार छोडेर जाँदा त म सम्हालिए भने आमेश त खुसी छ । त्यसैले अहिले म सबै व्यथा भुलेर काममा नै फोकश भइरहेकी छु ।’
उनले चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ असफल भएका कारण आफुहरुको ब्रेकअप नभएको पनि प्रष्ट पारेकी छिन् । उनले ‘फूलै फूलको मौसम तिमीलाई’ छायाँकन सुरु हुनु भन्दा अगाडीदेखी नै प्रेम सम्बन्धमा रहेको र आपसी सहमतीमै आफुहरु टाढा भएको पनि बताइन । ब्रेकअप भएपछि आमेश भण्डारीसँग एकपटक पनि कुराकानी नभएको बताउँदै उनले फेसबुकको च्याटबाट नै आफुहरुको ब्रेकअप भएको पनि बताएकी छिन् । नीता अहिले नयाँ चलचित्र ‘रेस’ को छायाँकनमा व्यस्त छिन् ।