एकल, युगल, पाश्र्व, भजन लगायत गरी करिब ६ हजार गीत रेकर्ड गराइसकेकी अहिलेकी चर्चित गायिका अञ्जु पन्त नेपाली नायिकाहरुलाई कम सुन्दर देखिन्नन् । उनको सुन्दरतामा फिदा हुने प्रशंसकहरु मात्र होइन नेपाली चलचित्रका निर्माताहरु पनि छन् । उनको सुन्दरता देखेर नै उनलाई झण्डै ११ बर्षदेखी लगातार नेपाली चलचित्रबाट अफर पनि आइरहेका छन् तर उनले अहिलेसम्म ‘नाइँ’ भन्दै बसिरहेकी छिन् । गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’देखी उनलाई ‘स्काउट’, ‘सिन्दुर’ लगायत दर्जन बढी चलचित्रबाट नायिकाको अफर आएको थियो तर उनले सबै चलचित्र अस्वीकार गरिन् । उनलाई लाग्छ आफु गाउनका लागि जन्मिएका कारण चलचित्रमा पाएको भूमिकालाई न्याय गर्न सकिन्नन् कि । तर, आफ्नो वास्तविक जीवनमाथी कुनै निर्माता चलचित्र निर्माण गर्न तयार भए नायिका बन्न भने उनी तयार छिन् ।
एक मिडियासँगको अन्तर्वार्ताको क्रममा उनी भन्छिन्, ‘भोलीको दिनमा के हुन्छ थाहा छैन । मेरै जीवनमाथी बन्ने चलचित्रभन्दा बाहिरको चलचित्रमा पनि काम गर्न सक्छु होला तर अब त्यो पछि नै थाहा हुन्छ ।’
गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘वडा नम्बर छ’ चलचित्रमा समाबेश ‘सुर्के थैली खै..’ गीतले युट्युबमा एक करोडभन्दा बढी हेरिएको रेकर्ड बनाएपछि उत्साहित उनी हाल प्रदर्शन चलचित्र ‘छक्का पन्जा’ को ‘पूर्व–पश्चिम रेल…’ को सफलताले पनि हौस्याएकी छिन् । अञ्जुले यस बर्ष ‘सुर्के थैली खै..’ बोलको गीतबाट उत्कृष्ट गायिकाको अवार्ड पनि थापिरहेकी छन् । पछिल्लो समय देश देखी विदेशमा हुने स्टेज कार्यक्रमहरुमा पनि उतिक्कै व्यस्त गायिका अञ्जुले आफु चलचित्रको गीतसँगै एल्बमका गीतहरुमा पनि आवाज दिइरहेको बताएकी छिन् । गायक मनोज राजसँगको विवाह टुटेपछि एक्लो जीवन विताइरहेकी अञ्जुको एक छोरी समेत छिन् ।