नायिका नम्रता श्रेष्ठ र नायक तथा गायक कोशिश क्षेत्रीको मुख्य भूमिका रहने चलचित्र ‘पर्व’ आजबाट फ्लोरमा गएको छ । ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर चलचित्रको छायांकन सुरु गरिएको हो । शुक्रबार र शनिबार यो सेटमा ‘काले काले’ बोलको आइटम गीतको छायांकन हुनेछ । यो गीतमा माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गर्नेछन् ।
३५ दिनको सेड्यूलमा तयार हुने यो सस्पेन्स थ्रीलर कथालाई दिनेश राउतले निर्देशन गर्दैछन् । एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने विभिन्न खालका क्रियाकलापमा यो चलचित्र बन्ने निर्देशकको भनाई छ । टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रमा नम्रता र कोशिशका अलवा माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना यसको मुख्य भूमिकामा छन् । सुवास गिरी र निकिता पौडेलको यसमा लगानी छ । कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी यो चलचित्रमा रहनेछ ।
चलचित्रको शुभ–मुहुर्तमा निर्देशक, निर्माता र कलाकारले पूजा गरेका थिए । यसपछि, कोशिशले मुहुर्त सर्ट दिएका थिए । चलचित्रको प्रदर्शन मिति चैत्र २५ लाई तोकिएको छ । काठमाण्डौका विभिन्न स्थानमा चलचित्र खिचिनेछ । अधिकांश दृश्य इनडोर रहेको निर्देशक राउतले बताए ।