प्रत्येक हप्ताको शुक्रबार आफ्नो चलचित्र प्रदर्शन गर्न हानाथाप गर्ने निर्माताहरु यो हप्ताको शुक्रबार भने कुना पसेका छन् । किनकी यो हप्ताको शुक्रबार नयाँ भनिएका कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । गएको हप्ता अर्थात बिहिबार निखिल उप्रेती अभिनित चलचित्र ‘किंग’, सौगात मल्ल अभिनित चलचित्र ‘शब्द’ र केकी अधिकारी र कर्मा शाक्य अभिनित चलचित्र ‘लभ साशा’ प्रदर्शनमा आएको थियो । माघे संक्रान्तिलाई लक्षित गरेर प्रदर्शनमा आएका यी तीन चलचित्रको व्यापार प्रदर्शनको दुई दिन शुक्रबार र शनिबार सुखद नै रहेपनि त्यसपछि भने सोचे जस्तो सुखद छैन । यो अबस्थामा पनि यी तीन चलचित्रसँग घम्साघम्सी गर्न यो शुक्रबार कुनै पनि नेपाली निर्माताहरुले आफ्नो चलचित्र जुधाउने आँट गरेनन् । प्रदर्शनको एक हप्ता वितेपनि लगानी सेभ गर्न नसकेका यी तीनै चलचित्रलाई यो शुक्रबार कुनै पनि चलचित्र प्रदर्शनमा नआइदिँदा गज्जबकै राहत पुगेको छ । मल्टिप्लेक्स लक्षित चलचित्र ‘लभ साशा’ र ‘शब्द’ सँग सिंगल हलका ‘राजा’ मानिने निखिलको ‘किंग’ ले यो हप्ता कस्तो व्यापार गर्ने हो त्यो भने आजबाट नै थाहा हुनेछ । निखिल उप्रेती, वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘किङ्ग’ लाई सविर श्रेष्ठले निर्देशन गेका हुन भने जयन श्रेष्ठले निर्माण गरेका हुन । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रमा सिनेमाटोग्राफी सञ्जय लामाको छ ।
त्यस्तै अर्को चलचित्र ‘शब्द’मा नायक सौगात मल्ल र कमली वाईवाको मुख्य भूमिका रहेको छ । सन्तोष शिवाकोटी निर्देशित चलचित्रमा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ । चलचित्रलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन ।
त्यस्तै यी दुई नेपाली चलचित्रसँग गएको बिहिबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘लभ साशा’ मा नायिका केकी अधिकारी र नायक कर्मा शाक्यको मुख्य भूमिका छ भने चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द.टि. फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको निर्माणपक्षले बताएको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र लभ साशामा लोकेश बज्राचार्यको सम्पादन छ ।