‘लुट २’ को आइटम गीत ‘ठमेल बजार’, ‘पर्व’ को आइटम गीत ‘काले दाई’ र झण्डै आधा दर्जन बढी नेपाली चलचित्रमा केमियो गरिसकेका निर्देशक निश्चल बस्नेत गायक बनेको चलचित्र ‘लप्पन छप्पन’ को गीत रिलिज भएको छ । ‘लैजा माया पोको पारेर’ बोलको गीतमा गायक निश्चल बस्नेल एक डान्स बारमा गायक बनेर देखिएका छन् । गीतमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारहरु पनि देखिएका छन् । अचम्म त के छ भने यो गीत निर्देशक निश्चल आफैले गाएका हुन । गीतमा शब्द र संगीत भने दीपक आरजेको छ । चैत ११ गतेलाई रिलिज डेट लक गरेको चलचित्र ‘लप्पन छप्पन’ मा प्रकाशजंग शाही, सिड खरेल, बर्षा सिवाकोटीको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन । प्रकाशजंग शाह र प्रवेश पौडेलको संयुक्त कथा तथा लेखन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । डम्वर चन्दको निर्माण रहेको चलचित्रमा सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । यो चलचित्र युरोप र नेपालमा छायाँकन गरिएको हो ।