नेपाली चलचित्रका नायक राजेश हमाल बच्चादेखी बृद्धसम्मका प्रिय कलाकार हुन । २५ बर्ष लामो जवानी नेपाली चलचित्रमा विताइसकेका हमालले झण्डै २ सय भन्दा बढी नेपाली चलचित्रमा आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेका छन् । कहिले हिरोइनसँग प्रेममा कुरा त कहिले भिलेनलाई रामधुलाई गर्दै प्रत्येक नेपालीहरुको मानसपटलमा सदाबहार नायकको छवि बनाएका हमाल पछिल्लो समय भने नेपाली चलचित्रमा कमै देखिने गर्छन । चाँडै आफ्नै लगानी र निर्देशनमा नयाँ चलचित्र निर्माण गर्न लागेका हमाल केही बर्षयता सामाजिक कार्यमा पनि उतिक्कै सक्रिय छन् ।
गएको हप्ता हमाल ‘घाँसी नेपाल’ ले निर्माण गरेको विद्यालय हस्तान्तरण गर्न गोरखाको विकट गाउँ गोहोरे पुगेका थिए । विद्यालय हस्तान्तरणपछि हमालले स्थानियहरुलाई मनोरञ्जन दिने क्रममा आफ्ना फिल्मी डाइलगहरु सुनाए । मिडियाको अगाडी होस् वा प्रशंसकहरुकै अगाडी किन नहोस् हमाल आफ्नो कुरा खेलेरै राख्ने गर्छन । त्यही क्रममा हमालले गोहोरेका झण्डै ३ सयबढी स्थानियहरुलाई आफ्नै विषयमा बनेको एक जोक्स सुनाए ।
उनको जोक्स यस्तो थियो :-
‘यहाँहरुले फेवातालको नाम सुन्नु भएको छ । एकदिन यो राजेश हमाल भन्ने कलाकार धेरै बर्ष अगाडी पोखरामा गीतको छायाँकनका लागि गएछ । गीतको छायाँकन गर्दा यति उफ्रेर नाचेछ कि उफ्रेको ठाउँमा गोलो खाल्टो परेछ । अनि अहिले त्यो खाल्टोमा पानी भरिएर फेवाताल भएछ ।’
हमालले आफ्नै विषयमा बनेको जोक्स सुनाउँदा स्थानियहरुले आफ्नो हाँसो रोक्न सकेनन् । हमालको गएको भदौमा ‘शकुन्तला’ चलचित्र हलमा लागेको थियो ।