मनिष अन्जान । केही बर्षयता नेपाली चलचित्र निर्माण र रिलिजको बाढी नै लाग्ने गरेको छ । पञ्चातकालमा कडा सेन्सरका कारण दुई तीन बर्षमा एक-दुई चलचित्र रिलिज हुन्थे । तर, अहिले यस्तो लाग्छ कि नेपाली चलचित्र क्षेत्रले ठूलै फड्को मारीसकेको छ । किनकी अहिले प्रत्येक बर्ष ७ दर्जन बढी नेपाली चलचित्रहरु हलमा लाग्ने गर्छन । केही बर्ष अगाडीसम्म सानो भनिएको नेपाली चलचित्र बजार विस्तारै फराकिलो बन्दै गएको पनि देख्न सकिन्छ । अहिले नेपाली चलचित्रले घरेलू बजारबाटै करोडमाथीको आम्दानी गर्ने गरेको खबर सुन्नमा पाइन्छ । त्यसो त अहिले प्रत्येक बर्ष डेढसय भन्दा बढी चलचित्रहरुले चलचित्र विकास बोर्डबाट इजाजत लिने गर्छन भने सयको आसपासमा चलचित्र निर्माण हुन्छन् । चलचित्र विकास बोर्डले दिएको तथ्याङक अनुसार, यस बर्ष ८८ वटा चलचित्र प्रदर्शनमा आएका छन् । यस बर्षको सुरुवात ‘हाऊ फन्नी’ र ‘बाटो मूनीको फूल २’ बाट भएको थियो भने अन्त्य ‘अपरिचित’ बनेको छ । यो बीचमा प्रदर्शनमा आएका ८८ वटा चलचित्र मध्ये एक दर्जन सिनेमाले पनि लगानी गरेको रकम खल्तीमा हाल्न पाएनन् । ६० देखी ७० लाखको आसपासमा चलचित्र निर्माण हुने गर्छ, जसका लागि एक चलचित्रले सिनेमा हलबाट करोडमाथीको व्यापार गरे मात्र लगानी सेभ गरेर निर्माताले केही पैसा खल्तीमा हाल्न पाउँछन् ।
सानो बजार छ, लगानी उठाउन मुश्किल छ त्यसैले पनि निर्माताहरु चलचित्रमा लगानी गर्न डराउनु स्वभाविकै हो । लगातार एकपछि अर्को सिनेमा घरहरु बन्द हुनुले पनि निर्माताहरुको लगानी सेभ हुन निकै मुश्किल छ । अझ एउटै मितिमा बलीउड र हलीउड चलचित्र रिलिज हुनुले पनि नेपाली चलचित्रहरु मारमा परिरहेका छन् । यसको बाबजुद पनि यस बर्ष नेपाली चलचित्रका लागि सुखद नै रह्यो । ८८ चलचित्र रिलिज भएकोमा यस बर्ष आधा दर्जन सिनेमाले भने राम्रै पैसा छापे ।
हेर्नूस्, यी हुन यस बर्ष हिटको सूचीमा दर्ता भएका नेपाली चलचित्रहरु :
१. छक्का पन्जा
यस बर्षको सबैभन्दा हिट चलचित्र बन्यो, ‘छक्का पन्जा’ । प्रदर्शनको सय दिनमा १६ करोड कमाएको ‘छक्का पन्जा’ ले इतिहासकै रेकर्ड ब्रेक गरेको छ । यसअघि यो अनुपातमा कुनै पनि नेपाली चलचित्रले विजनेश गरेका थिएनन् । पहिलो पटक चलचित्र निर्देशनमा डेब्यू गरेकी दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका थियो ।
२. लुट २
‘छक्का पन्जा’ पछि कुनै नेपाली चलचित्रले सबैभन्दा बढी पैसा छाप्यो भने त्यो चलचित्र हो,’लुट २’ । यो चलचित्रको लाइफटाइम कलेक्शन ७ करोडमाथी रहेको निर्माता बताउँछन् । निश्चल बस्नेत निर्देशित यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, विपिन कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
३. जात्रा
यस बर्षको हिट चलचित्रको सूचीमा कमेडी चलचित्र ‘जात्रा’ पनि सूचिकृत भएको छ । बर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्रले २ करोड ग्रस कलेक्शन गरेको छ । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन ।
४. गाजलु
नायक अनमोल केसी र नायिका श्रृष्टी श्रेष्ठ स्टारर चलचित्र ‘गाजलु’ ले पनि घरेलू बजारबाट २ करोडको आसपासमा विजनेश गर्दै यस बर्षको हिट चलचित्रको सूचीमा आफुलाई उभ्याएको छ । यो चलचित्रलाई हेमराज विसीको निर्देशन गरेका हुन ।
५. वीर विक्रम
यस बर्षको हिट चलचित्रको सूचीमा दयाहाङ राईको लिड रोल रहेको चलचित्र ‘वीर विक्रम’ पनि सामेल भएको छ । प्राप्त खबर अनुसार, वीर विक्रमले डेढ करोडको आसपासमा विजनेश गर्दै यस बर्षको हिट चलचित्र बनेको छ । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन ।
६. चपली हाईट २
यस बर्ष रिलिज भएको चलचित्र ‘चपली हाईट २’ ले पनि राम्रै विजनेश गरेको छ । वीर विक्रमसँग एकसाथ हलमा लागेपनि ‘चपली हाईट २’ ले करोडमाथीको विजनेश गरेको निर्माता दाबी गर्छन । यस हिसाबले ‘चपली हाईट २’ २०७३ को हिट चलचित्र सावित भएको छ । दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना, मरिष्का पोख्रेल लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।
७. पुरानो डुङ्गा
दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुल्न नसकेपनि चलचित्र ‘पुरानो डुङ्गा’ ले नेपालबाटै लगानी सुरक्षित गर्न भने सफल भयो । कमजोर कथावस्तुका कारण सोचे अनुसार दर्शकहरु हलमा हुल्न नसकेपनि यो चलचित्रले करोडको आसपासमा विजनेश गरेको थियो । यस कारण पनि यो चलचित्र २०७३ को हिट चलचित्र बनेको छ । यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन भने दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङको मुख्य भूमिका थियो ।
८. लप्पन छप्पन
हाल प्रदर्शन भइरहेको दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘छप्पन लप्पन’ ले पनि करोड ग्रस आम्दानी गरेको निर्माताको दाबी छ । यस हिसावले पनि चलचित्र लप्पन छप्पन २०७३ को हिट चलचित्रको सूचीमा समाबेश भएको छ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन ।