लसएञ्जल्स(एजेन्सी) । हलिउड स्टार ब्राड पिटले श्रीमति एञ्जोलिना जोलीसँग सम्बन्धविच्छेद भएपछि आफुले थेरापीको सहारा लिनु परेको खुलासा गरेका छन् । श्रीमति जोलीसँग सम्बन्ध टुटेपछि आफू भावनात्मक रुपमा डिप्रेसनमा परेको बताएका हुन् ।
एक्लिएपछि आफ्नो मदिरा पिउने मात्रा ज्यादै बढेको बताउँदै हालको अवस्थामा भने मदिरा पिउन छोडेको जनाएका छन् । जीक्यू स्टाइल म्यागाजिनसँगको अन्तरवार्तामा उनले आफुले थेरापीको सहारा लिन थालेको कुरा उल्लेख गरेका छन् । ‘मैले थेरापीको सहारा लिन शुरु गरेको छु, म अहिले स्वस्थ भएको अनुभव गर्दैछु । जोलीसँग अलग्गिएपछि म अन्य मानिससँगबाट पनि टाढिएको छु । तर अब भावनालाई राम्रो किसिमको आफ्नो बसमा राख्न सक्ने भएको छु ।’ उनले भनेका छन् ।
एञ्जोलिनाले सेप्टेम्बर २०१६ मा ब्राड पिटसँग छुट्टिने घोषणा गरेकी थिइन् । यो जोडी सन् २००४ देखि सँगै रहेका थिए र २०१४ मा विवाह गरेका थिए । दुवै छुट्टिएपछि सन्तानका लागि दुवैबीच तिखो कानूनी लडाई पनि भएको थियो ।
ब्राडले जोलीसँग अलग्गिएपछि व्यसत रहनका लागि कलाको सहारा लिएको खुलाएका छन् । उनले आफुले क्ले, प्लाष्टर, रबर र लकडीको कलाकृति बनाउन थालेको समेत बताएका छन् । उनले आफ्नो प्राथमिकतामा वर्तमान अवस्थामा फिल्म नरहेकोसमेत जनाएका छन् ।