लसएञ्जल्स(एजेन्सी) । एक वर्ष अघि हलिउडका चर्चित जोडी एन्जेलिना जोली र ब्राड पिट वैवाहिक सम्बन्धबाट अलग्गिनका लागि अदालतमा निवेदन दिएको समाचार सार्वजनिक भए पछि विश्वभर सनसनी मच्चिएको थियो । यो निर्णयले उनका फ्यानहरुका लागि दुःखको समाचार थियो । तर अहिले तिनै फ्यानका लागि अर्को खुशीको खबर आएको छ ।
सञ्चारमाध्यमका अनुसार दुवैले सम्बन्धविच्छेदको कानूनी प्रक्रियालाई केही समयका लागि स्थगित गरेका छन् । दुवैले सम्बन्धविच्छेदका लागि अगाडि गर्नुपर्ने कुनै पनि कानूनी कारवाही बढाएका छैनन् । दुवैजना सम्बन्धविच्छेदको विषयलाई लिएर सहज हुन सकेका छैनन् । उनीहरुले आफूहरुले गरेको निर्णय सही काम हो या होइन भन्ने विश्लेषणमा लागेका कारण पनि कानूनी प्रक्रियालाई ढिलाई गरेका हुन् ।
जोलीको एक साथीका अनुसार जोली पिटसँग पुनः सँगै बस्ने विचार गरिरहेकी छन् । किनकी अदालतमा जोलीले सम्बन्धविच्छेदको मुद्धा दायर गरेपछि सबै कुरा बदलिईसकेको छ । जोली आफुसँग नबसे पछि पिटले आत्मसुधारको काम गरिरहेको कारण पनि त्यो स्वभावले जोलीको दिगाग परिवर्तन भएको ती साथीले बताइन् ।
ब्राडसँग सम्बन्धविच्छेदको मुद्धा दर्ता गरेपछि आफू हाइपर टेन्सन र बेल्स पाल्सी नामक गम्भीर बिरामी भएको खुलासा गरेकी थिइन् । ब्राडले पनि जोलीसँग छुट्टिएर बस्नु आफना लागि मरेसरह रहेको बताएका थिए । सन् २०१४ देखि वैवाहिक सम्बन्धमा रहे पनि २०१६ को सेप्टेम्बरमा जोलीले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् ।