दर्शकले अभिनेता पुष्पल खड्का र अभिनेत्री शिल्पा पोख्रेलको जोडीलाई रुचाइसकेको अवस्था छैन । किनकी, यी दुइले अभिनय गरेको फिल्म ‘मंगलम’ रिलिज नै भएको छैन । यो फिल्मको रिलिज डेट पछि सार्दा सार्दै निर्माता छविराज ओझा फागूण ४ गते पुगिसकेका छन् ।
अब, अभिनेता पुष्पल र अभिनेत्री शिल्पालाई लिएर फिल्म ‘मंगलम’का निर्देशक नवल नेपालले नयाँ फिल्म बनाउने भएका छन् । उनले बनाउन लागेको नयाँ फिल्मको नाम ‘मन्द मन्द’ राखिएको छ । हुनत, यो फाइनल नाम भने होइन ।
नवलका अनुसार फिल्मको नाम परिवर्तन हुनसक्छ । फिल्म ‘मंगलम’ रिलिज भए लगतै यो फिल्मको छायांकन सुरु गरिनेछ । फिल्मलाई प्रेम कथामा निर्माण गरिने नवलले जानकारी दिएका छन् । फिल्ममा रुद्र खनाल र मिनु मल्लको लगानी रहनेछ । फिल्ममा दीपक शर्माको संगीत, दिव्य सुवेदीको छायांकन, दिनेश न्यौपाने र गोविन्द फूयाँलको कथा छ ।