छविराज ओझाले निर्माण गरेको चलचित्र “लज्जा” बाट नेपाली चलचित्रमा डेव्यू गरेकी अभिनेत्री शिल्पा पोख्रेलले त्यसपछि “हवल्दार सुन्तली”, “फागु” चलचित्रमा काम गरिन् । आफुले पर्दामा निभाएको भुमिकाबाट राम्रो तारिफ बटुलिरहेकी शिल्पाको भदौ १७ गते “बृन्दावन” र असोज २१ गते छविराज ओझाले निर्माण गरेको अर्को नयाँ चलचित्र “किस्मत २” प्रदर्शनमा आउँदैछ । “किस्मत २” मा पनि प्रमुख भुमिका निर्वाह गरेकी शिल्पा एकपछि अर्को गर्दै छविराज ओझाको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा काम गर्न थालेपछि अहिले बजारमा धेरै हल्लाहरुले स्थान पाइरहेका छन् । गाइँगुइँ रुपमा छविराज ओझा र शिल्पा पोख्रेल विवाह समेत गर्न लागेको खबरले नेपाली मिडियाहरु नतातेका होइनन् । यही विषयमा अभिनेत्री शिल्पा पोख्रेलसँग सिनेखबर डटकमले गरेको कुराकानी :
१. आजकल के गर्दै हुनुहुन्छ ?
अहिले त फिल्म किस्मत–२ को प्रमोशनमा नै ब्यस्त छु । फिल्मको मिती नजिकिदै छ त्यसैले फिल्मको कामहरुमा नै ब्यस्त छु । पत्रकारहरु भेटघाट र फिल्मको प्रमोशनका लागि थप के कस्ता कुराहरु गर्न सकिन्छ भन्ने मा नै लागिपरेकी छु ।
२. कस्तो फिल्म हो किस्मत–२ ?
किस्मत–२ दृष्टिवीहिन महिलाको प्रेममा आधारित रहेर बनेको फिल्म हो ।
३. तपाई अहिले एक्सन नायिका भनेर चिनिनुहुन्छ । किस्मत–२ मा एक्सन कत्तिको गर्नुभएको छ त ?
यो त मैले भन्ने भन्दा पनि फिल्म नै हेर्नुपर्ला । अहिले राज खोलि नहालौं कि ।
४. तपाई प्राय चर्चामा आइरहनु हुन्छ, कहिले छवी जी सँग त कहिले छोटा कपडाले , किन ?
यो फिल्मी लाइन नै यस्तै हो । हामी कलाकारहरुलाई सानो रुघा मात्र लाग्यो भने पनि बाहिर ठुलो हल्ला हुन्छ । छवी जी संग चर्चा मा आउनु भनेको चाँहि साधारण मान्छु म । फिल्म लाइनमा चर्चा भन्ने कुरा भइहाल्छ नी । छोटा कपडा चाँही मान्छेको नजरको कुरा हो । अब मलाई जुन कपडा मन पर्छ त्यही कपडा लगाउने हो । हेर्नको लागि मान्छेले जुन नजरबाट पनि त हेर्न सक्छन् नी । मान्छेले कुरा काट्छन् भनेर मैले आफुले चाहेको जस्तो कपडा पनि लगाउन नपाउने ?
५. तपाई र छवी ओझा बिच प्रेमको चर्चा पनि निकै सुनियो नी ?
चर्चा सुन्नु सामान्य कुरा हो । फिल्मी क्षेत्रमा यस्ता खाले हल्ला त धेरै हुन्छन् । तीन–तीन वर्ष भइसक्यो काम गरेको चर्चा त भइनै हाल्छ नी ।
६. छवी जी बाट तपाईलाई बिवाहको प्रस्ताव आयो भने के गर्नु हुन्छ ?
अब काम गर्न थालेको यती धेरै भयो । अफर आयो भने गर्न पनि सकिन्छ । मन नै त हो नी हैन र । तै पनि यो त मेरो स्वतन्त्रताको कुरा पनि त हो नी ।
७. तपाई त रेखा थापा जस्तै देखिने हुनाले छवीराज ओझाले लिनु भएको रे नी ?
म यो फिल्म लाइनमा आउनु भन्दा पहिला म्युजिक भिडियोमा काम गर्थे । फिल्ममा मेरो राम्रो अभिनयले गर्दा नै म आज यहाँ छु । मलाई रेखा थापा जस्तो देखिनु पनि छैन र उनको जस्तै अनुहार भएर मैले यो स्थान पाएको पनि होइन । छवीराज ओझाले मेरो अभिनयले गर्दा मलाई लिनु भएको हो । म छवी जी ले गर्दा नै आज यहाँसम्म आइपुगेकी हुँ ।
८. फिल्मी क्षेत्रमा जम्न नायिकाहरुले धेरै कुराहरुको त्याग र सर्मपण गर्नुपर्छ रे नी हो ?
वास्तवमा नेपाली फिल्मी क्षेत्र एउटा अच्चमको क्षेत्र हो । यहाँ धेरै शोषित भएर निक्लिएका पनि छन् र धेरैले यही पेशाबाट नाम पनि कमाएका छन् । आफनो काम गर्ने हो । कसैले के भन्ला मैले यस्तो गरे भनेर सोच्ने होइन । राम्रो काम गर्नेलाई सबैले राम्रो नै भन्छ । अलि अलि दुख वेदना त सहनु पनि पर्छ ।
९. किस्मत २ बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
राम्रो फिल्म बनेको छ । अरु फिल्महरुमा जस्तै यसमा पनि मैले राम्रो मेहिनेत गरेकी छु । आशा छ दर्शकहरुले मेरो कामलाई रुचाइदिनु हुन्छ ।