लसएञ्जल्स । गत अप्रिल २७ मा रिलिज हलिउड फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ले रिलिजको तीन दिनमा ग्रस कलेक्सनको नयाँ रेकर्ड राखेको छ। हलिउडका भएभरका सुपरहिरो अभिनिति फिल्मले अमेरिकाको बक्स अफिसमा मात्र नभई विश्वकै बक्स अफिसमा तहल्का मच्चाएको छ । फिल्म रिलिज भएकै दिन यसले बक्स अफिसमा धेरै रेकर्ड मात्र तोडेन । फिल्मले विश्वव्यापी बक्स अफिसमा सर्वाधिक ओपनिङ विकेन्ड ग्रसरको पनि रेकर्ड राखेको छ।
यो फिल्मले गत वर्ष रिलिज ‘द फेट अफ दि फ्युरियस’ले राखेको ५ सय ४३ मिलियन अमेरिकी डलरको रेकर्डलाई पनि तोडेको छ । मार्भल सुपरहिरो कमिक यो फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ सय ३० मिलियन अमेरिकी डलरको कमाई गरिसकेको छ । यो फिल्म चीनमा अझै रिलिज हुन बाँकी छ।
व्यापार विश्लेषक रमेश बालाले ट्वीटरमा फिल्मको कलेक्सनलाई उल्लेख गरेका छन् । ‘ठूलो अन्तरमा एभेन्जर्सः इन्फिनिटी वार’ले ६ सय ३० मिलियन अमेरिकी डलरको कमाइसँगै ‘फेट अफ दि फ्युरियस’को ५ सय ४३ मिलियन अमेरिकी डलरको कमाइलाई पछि पार्दै ग्लोबल बक्स अफिसमा आफूलाई नम्बर १ मा राख्न सफल भएको छ । फिल्मले उत्तर अमेरिकामा २ सय ५० मिलियन अमेरिकी डलर र अन्तर्राष्ट्रिय ३ सय ८० मिलियन अमेरिकी डलर गरी जम्मा ६ सय ३० मिलियन अमेरिकी डलर को आम्दानी गरेको छ।’
हालसम्मको व्यापारलाई हेर्दा यो फिल्म चीनमा रिलिज भएको अवस्थामा यसको व्यापारको रेकर्ड कतिसम्म पुग्ला भन्नु अनुमान लगाउन मुस्किल रहेको रमेशले जनाएका छन् । उनले यो फिल्म चीनमा रिलिज भए विश्व बक्स अफिससँगै चिनियाँ बक्स अफिसको अहिलेसम्मको रेकर्डमा पनि छलाङ मार्ने दाबी गरेका छन्।
एन्थोनी र जोइ रुसो निर्देशित फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस प्राट, क्रिस हेम्सवर्थ, बेनेडिक्ट कम्बरबेच, स्कार्लेट जोन्सन र मार्क रुफालोको अभिनय छ । फिल्ममा यी कलाकारले थानोस नामक भिलेन चरित्रमा देखिएका कलाकार जोस ब्रोलिनको पन्जाबाट विश्वलाई कसरी सुरक्षित राख्छन् भन्ने देखाइएको छ।