सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ मा हलमा लाग्ने भएको छ। निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन्।
फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन्। फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन्। उनले भारतमा केही चलचित्रलमा अभिनयको अनुभव संगालिसकेकी छिन्। रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन्।
फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन्। उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए। फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म हलमा आउन लागेको हो। निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए।
‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो। अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं’, ढकालको भनाइ छ।
सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन्। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन्। स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन्। फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन्। फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन्।