फिल्म ‘छ माया छपक्कै’को औपचारिक निर्माण घोषणा गरिएको छ। काठमाडौंमा रहेको पाँच तारे होटलमा एक कार्यक्रम गर्दै नाटकिय शैलीमा फिल्मको घोषणा गरिएको हो।
छक्का पञ्जा टिम र रोहित अधिकारीले मिलेर निर्माण गर्न लागेको यस फिल्मलाई ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीको मुख्य भूमिका रहनेछ।
निर्माण घोषणामा गरिएको नाटकिय प्रहशनबाट फिल्मको मुख्य बिषयबस्तुलाई देखाइएको छ। फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो पुरुष बीचको प्रेमकथालाई प्रस्तुत गर्नेछ।
‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आइएमई’को प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ। निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ।
जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन्। दीपक शर्माको संगीत रहने फिल्मका गीतमा कविराज गहतराजले नृत्य निर्देशन गर्नेछन्। फिल्मले आगमी दशैँलाई रिलिज टार्गेट गरेको छ।