मधेशी नेता डा. सिके राउतको जीवनीमा फिल्म निर्माण हुने भएको छ। ‘डा. सिके राउत- द प्यासन’ नाम राखिएको उक्त फिल्ममा ५० प्रतिशत राउतको जीवनी र ५० प्रतिशत फिल्मी कथा जोडेर फिल्म निर्माण हुने बताइएको छ।
डा. राउतले आफूलाई डेढ महिना अघि फिल्म निर्माण टिमले भेट्न खोजेको र फिल्म निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए। ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन। पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो’, राउतले कार्यक्रममा भने।
फिल्ममा भोजपुरी फिल्मका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन्। फिल्ममा परदेशीका अलावा धुर्ब कोइराला, पुकार भट्टराई, बिशाल पहाडी, किरण थापा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ।
‘माँ राधिका इन्टरनेशनल मुभिज’को व्यानरमा निर्माण हुने फिल्ममा सन्तोष शाहले निर्देशन गर्ने छन्। विजेता गिरीको प्रस्तुती रहने फिल्मको लगानी करिब डेढ करोड लगानी रहेको छ।
एसोसियट निर्देशक नबराज शर्मा रहने फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन्। रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। फिल्म नेपाली भोजपुरी र हिन्दि भाषामा बन्ने फिल्म आगमी छठमा रिलिज हुनेछ।