नायक आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’ छायांकनको केही तस्विरहरु सार्वजनिक भएका छन्। निर्माण पक्षले फिल्मको गीत छायांकनको केही तस्विरहरु सार्वजनिक गरेको हो।
मुस्ताङको चुसुङ्गामा पुगेर फिल्मको ‘सिल्की सिल्की बाल’ बोलको गीत छायांकन गरिएको छ। सोही गीत छायांकनको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको हो। सार्वजनिक तस्विरमा आर्यन र नायिका मिरुना मगरलाई रोमान्टिक अवतारमा देखाइएको छ। तस्विरमा फिल्मका अर्का मुख्य कलाकार भोलाराज सापकोटा पनि देखिएका छन्।
एक साता लगाएर छायांकन गरिएको यस गीतमा शिशिर खातीको करियोग्राफी रहेको छ। राजनराज सिवाकोटीको संगीतमा तयार भएको गीतमा राजनराज र मेलिनाले स्वर दिएका छन्। नर्माण पक्षका अनुसार छिट्टै यस गीत सार्वजनिक गरिने छ।
मंसिर ६ गते प्रदर्शन हुने फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। रोमान्टिक कमेडी जनरमा तयार भएको यस फिल्मलाई ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्।
फिल्ममा आर्यन, मिरुना र भोलासँगै माओत्से गुरुङ, पुस्कर गुरुङ, बबितामल्ल लगायतको पनि अभिनय छ। सुशन प्रजापतिले खिचेको फिल्मलाई निर्देशक भुटियाले नै सम्पादन गरेका हुन्।