नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ। शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति पक्का गरिएको हो।
पोस्टरमा लेखिए अनुसार यस फिल्म आउँदो बर्षको जेठ २ गते रिलिज हुनेछ। पोस्टरमा फिल्मका मुख्य दुई कलाकार पूजा र आकाशलाई मात्रै फिचर गरिएको छ। जहाँ उनीहरुलाई प्रेमिल अवतारमा देख्न सकिन्छ। घोडामा चढेकी पूजालाई आकाशले प्रेम भावले हेरेका छन्।
निमेष प्रधानको निर्देशनमा तयार भएको फिल्म ‘संझना विर्सना’मा छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य भूमिका छ। भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ लगायतका स्थानमा खिचिएको यस फिल्मलाई रेबेका प्रधान र अदुत्य प्रधानले निर्माण गरेका हुन्।