फिल्म ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र पल शाह फिचर छन्। ट्रेलरमा पल शाहलाई सुपरस्टार गायकको रुपमा देखाइएको छ भने पूजा शर्मालाई राइजिङ स्टारको रुपमा प्रस्तुत गरिएको छ। पल र पूजाको रोमान्स र विछोडलाई पनि ट्रेलरमा देख्न सकिन्छ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यस फिल्मले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको थियो। तर, फिल्मलाई एक साता पछाडि सरिएको छ। अब भने फिल्म फागुन ३० गते रिलिज हुनेछ। बलिउड फिल्म ‘बाघी ३’सँग डराएर फिल्मले आफ्नो रिलिज मिति पछाडि सारेको हो।
फिल्ममा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ। पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको यो फिल्ममा जन्मजय र साम्पाङ राई सह–निर्माताको रुपमा छन्। फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ।