सपनाको शहर अमेरिका, जहाँ जान मानिसहरु कयौं संधर्ष गर्ने गर्छन । साधारण मानिसहरु मात्र होइन् चलचित्रको पर्दामा देखिने स्टार कलाकारहरुको पनि सपनाको शहर हो अमेरिका । केही बर्षयता हेर्ने हो भने धेरै चलचित्रकर्मीहरु अमेरिका पलायन भइरहेका छन् । नेपाली चलचित्रमा आफ्नो सुरक्षित भविष्य नदेखेपछि अमेरिका पलायन हुनेको भिड अझै कम भएको छैन । विभिन्न बहानामा अमेरिका पुगेका कलाकारहरु प्राय जसो उतै बस्ने गर्छन भने एकाध कलाकार मात्र फर्किएर आएको पाइन्छ । स्रोतका अनुसार पछिल्लो केही बर्षयता दैनिक जसो अमेरिकी राजदुताबासमा झण्डै १० जना भन्दा बढी नेपाली कलाकारहरु भिषाका लागि पुग्ने गर्छन । त्यो भिडमा नेपालका सुपरस्टार कलाकारहरु पनि बाँकी छैनन् ।
केही दिन अगाडी मात्र नायक शिव श्रेष्ठ पनि अमेरिका घुम्न जाने भन्दै नेपालमा रहेको अमेरिकी दुताबास पुगेका थिए तर उनले भिषा पाएनन् । झण्डै ३ दशकदेखी नेपाली चलचित्रमा सक्रिय शिव श्रेष्ठलाई अमेरिकाले भिषा नदिएपछि अचम्ममा पर्ने त जो कोहिँ नै हुने भए । अमेरिकामा हुन लागेको ‘ग्लोवल फिल्म अवार्ड’ मा सहभागी हुनको लागी शिवले भिषा आवेदन दिएका थिए तर अमेरिकाले उनलाई पत्याएन् । यो खबर केही दिन देखी नेपाली मिडियाहरुमा खुबै आइरहेको छ । यस विषयमा हालै शिव श्रेष्ठले मुख खोलेका छन् । वुधबार राजधानीमा ‘ग्लोवल फिल्म अवार्ड’ को पत्रकार सम्मेलनमा ‘तपाईलाई अमेरिकाले भिषा पत्याएन् है ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने -‘हामीले अवार्ड गर्ने हो भिषा दिने नदिने उहाँहरुको काम हो ।’ शिवलाई अमेरिकाले भिषा नदिएपनि उनका समकक्षी तथा एक समय प्रतिस्पद्र्यी हिरो मानिने भुवन केसी र राजेश हमाल भने धेरै पटक अमेरिका पुगेर पनि आइसकेका छन् ।