यूवतीहरुसँगको निकटताका कारण प्राय चर्चा र विवादमा तानिरहने नायक हुन भुवन केसी । दुई श्रीमतीसँग सम्बन्ध विक्षेद गरेर अहिले एक्लो जीवन विताइरहेका उनी केहीबर्षयता नायिका जीया केसीसँग लिभिङ्ग टूकेदरमा रहेको हल्ला पनि चलिरहेको छ तर यस विषयमा भुवन, जीया मिल्ने साथी मात्र भएको बताउँछन् । कान्छी श्रीमती सुस्मिता केसीबाट जन्मिएका नायक अनमोल केसीसँग काठमाडौंमा बस्दै आइरहेका नायक भुवन केसीले गएको संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट समानुपातीक उम्मेदवारको रुपमा लडेका थिए । तर, उनी समानुपातीक सभासद् भने बनेनन् । ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा उनले भने -‘राजनीति गर्नेलाई राम्रो भाषण गर्न आउनु पर्छ भन्छन् त्यो मलाई आउँदा पनि आउँदैन । म पनि नेपालको एक स्वाभिमानी नागरिक भएको हुनाले देश र जनताका लागि निस्वार्थ रुपमा काम गर्ने सोचका साथ एमालेमा प्रवेश गरेको हुँ ।
उनी अगाडी भन्छन्,’मैले एमालेबाट समानुपातीक सांसदको हैसियतले टिकट पनि पाएको हुँ । एउटा समानुपातीक सांसद हुनका लागि सायद २० हजार भोट आबश्यक पर्छ । म पनि ३ करोड जनतामाझ समानुपातीक सांसदको हैसियतले भोट माग्न गएँ । भुवन केसी पनि समानुपातीक उम्मेदवार हो भनेर मेरा प्रशंसकहरुले लाखौं भोट दिनु भएको छ । मैले त्यति बेला केही पाइन भने पनि डेढ दुई लाख भोट त पाएँ होला । मेरो भोटबाटै एमालेले ५/७ वटा सांसद पाएको छ । त्यो मैले एमालेलाई दिएको छु । म यसमा गर्व गर्छु कि मेरो भोटबाट आज ५/७ जना व्यक्ति सांसद बन्नुभएको छ ।’
‘मैले मन्त्री बन्नका लागि राजनीतिमा लागेको होइन । मैले यत्रो बर्ष कलाकारीता क्षेत्रमा विताए अब देश र जनताका लागि केही गर्छु भनेर राजनीतिमा लागेको हुँ । मलाई राजनीतिमा लागेर कुनै पद पाइन्छ र मन्त्री बन्न पाइन्छ भन्ने सोच छैन ।’ उनले भने ।एमालेमा प्रवेश गरेपनि नायक भुवन केसी बढी जसो समय नेपाली चलचित्र क्षेत्रलाई नै दिइरहेका छन् । केही बर्षयता चलचित्रको पर्दामा नदेखिएका नायक भुवन केसीले निर्माण र निर्देशन गरेको चलचित्र ‘ड्रीम्स’ भने गएको बर्ष प्रदर्शनमा आएको थियो, जुन चलचित्रमा भुवनका छोरा अनमोल केसीले अभिनय गरेका थिए । अभिनयबाट ब्रेक नलिएको बताउने भुवन भन्छन्, ‘मलाई मन पर्ने र सुहाउने कथा आएँ चलचित्रमा काम गर्न तयार छु तर सधै एकै प्रकारका भुमिका म गर्दिन । म भर्सटायल एक्टर हुँ । मैले आफ्नो फिल्मी करियरमा फरक-फरक भुमिका निर्वाहा गरेको छु त्यसैले आगामी दिनहरुमा पनि फरक खाल्का चलचित्रमा नै काम गर्न चाहन्छु ।’
यूवतीसँगको रिलेशनसिपका कारण चर्चामा रहने भुवन केसीलाई हामीले सोध्यौ कि ‘तपाई नेपालको कुन हिरोइनसँग ब्ल्याइन्ड डेटमा जान चाहन्नुहुन्छ ?’ अनि भुवनले झट्टै उत्तर दिए, ‘अहिलेसम्म मैले कुनै नेपाली नायिका भेटेको छैन, जोसँग म ब्ल्याइन्ड डेट जाउँ ।’उनले आफ्नो फिल्म करियरमा थुप्रै नायिकाहरुसँग काम गरेपनि अनस्क्रिन आफ्नो केमेष्ट्री (जोडी) ‘कुशुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’ मा अभिनय गरेकी नायिका तृप्ती नाटकरसँग सुहाएको पनि ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा बताए ।