यस बर्ष कमै चलचित्रले मात्र सोलो रिलिजको मौका पाए । सोलो रिलिजको मौका पाएका प्राय चलचित्रले आफ्नो लगानी सेभ पनि गरे । राम्रो चलचित्र छ र उक्त चलचित्रले सोलो रिलिजको मौका पायो भने त धुम नै मच्चाउँछ नभएपनि सोलो रिलिजको मौका पाएका चलचित्रको विजनेश ठिकठाक नै देख्न गरिन्छ । तर, अहिले सोलो रिलिजको मौका कि अनमोल केसीका चलचित्रले पाउँछन् कि दीपा-दीपकको चलचित्रले नभए त अरु निर्माताहरु एकै मितिमा एकभन्दा बढी चलचित्रसँग आफ्नो चलचित्र भिडाउनुको कुनै विकल्प नै देख्दैनन् । अहिले प्रत्येक हप्ताको शुक्रबार हेर्ने हो भने दुई नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आइरहेका छन् । अझ बलीउड र हलीउड चलचित्र पनि प्राय हप्तामा एउटा प्रदर्शन भइरहेका हुन्छन् ।
यस्तै पौष २९ गते दुई स्टार कलाकारको चलचित्र पनि एकसाथ प्रदर्शन हुँदैछ । नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ र सौगात मल्ल स्टारर चलचित्र ‘शब्द’ पौष २९ गते एकसाथ हलमा लाग्दैछन् ।
दर्शकहरुमा एक्शनस्टार निखिल उप्रेतीका चलचित्र भनेपछि त्यसै पनि प्रतिक्षित बन्ने गर्छ भने सौगातको पनि बजारमा राम्रै क्रेज छ । यस्तो अबस्थामा यि दुई नायक एकै मितिमा एकसाथ हल छिर्दैछन् । कथावस्तु फरक -फरक भएपनि आफ्नो स्टार कलाकारको चलचित्र एकसाथ प्रदर्शनमा आउँदा दर्शकहरु कुन हेर्ने कुन नहेर्ने अन्योलमा परेका हुन्छन् । पौष २९ मा पनि दर्शकहरु यस्तै अन्योलमा पर्नेमा पक्का छ तर निर्माण पक्ष आफ्नो चलचित्र उत्कृष्ट रहेको बताउँदै आएका छन् । अब हेर्न यो बाँकी छ कि पौष २९ गते कुन चलचित्रमाथी को भारी पर्ने हो ?
सविर श्रेष्ठले निर्देशन गरेको निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ मा वेनिशा हमाल, अनुपविक्रम शाही, प्रज्वल सुजल गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै नवनिर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको चलचित्र ‘शब्द’ मा सौगातका अलवा कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतको अभिनय रहेको छ ।