गएको बर्ष प्रदर्शनमा आएको सुरपहिट चलचित्र ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के. खनाल र ‘पशुपतिप्रसाद’ कै कलाकार एवं लेखक खगेन्द्र लामिछानेले नयाँ चलचित्र निर्माण गर्दैछन् ‘धनपति’ । २०७४ सालमा प्रदर्शनमा ल्याउने गरी चलचित्र ‘धनपति’ को छायाँकन माघ महिनाबाट सुरु हुँदैछ ।
चलचित्र धनपतीमा खगेन्द्र आफैले अभिनय गर्नेछन् भने उनको पत्नीको भूमिका सुरक्षा पन्तले निर्वाहा गर्ने पक्का भएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के. खनालका अनुसार, चलचित्र धनपतीमा खगेन्द्रको श्रीमतीको भूमिका सुरक्षाले निर्वाहा गर्नेछिन् । सुरक्षालाई वुधबार मात्र निर्माणपक्षले ‘धनपति’ का लागि फाइनल गरेको हो । यसअघि ‘अझै पनि’ र हालै चलचित्र ‘सुस्केरा’ को छायाँकन सकाएकी सुरक्षा सञ्चारकर्मी समेत हुन । चलचित्रमा कथा, पटकथा तथा संवाद खगेन्द्र कै रहनेछ । टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्शनको तर्फबाट यो चलचित्र निर्माण हुन लागेको हो । सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ? भन्ने कथामा यो चलचित्र बन्ने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा निर्माताको रुपमा रोजिना सिटौला, सह-निर्माताको रुपमा रजना नापित र समिर देवकोटा रहनेछन् । हाईलाइट्स नेपालका अध्यक्ष ओम गुरुङ यसका सहायक निर्माता हुन् ।