केहि महिना अगाडी एउटा खबर निकै भाइरल बनेको थियो कि नायिका केकी अधिकारी निर्मात्री बन्दैछिन् र उनी एक राम्रो निर्देशक खोज्दैछिन् । यो अनौठो त होइन एक नायिका निर्मात्री बन्नु तर पहिलो पटक केकी निर्मात्री बन्न लागेको खबरले चाहिँ राम्रै हंगामा मच्चायो । यी खबरहरु भाइरल भएपछि केकीलाई शुभकामना दिनेको ओहिरो नै लाग्यो तर केकीले तत्काल निर्मात्री बन्ने सोच रहेको भन्न चाहिँ खोजेकी थिइनन् । चलचित्रक्षेत्रको आफु पनि एक सदस्य भएका कारण कुनैदिन चलचित्र निर्माणमा हात हाल्ने उनको सोच हो ।
तर, हालै एक चलचित्रमा नायिका केकी अधिकारीको नाम निर्मात्रीमा राखिएको छ । पुष २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ साशा’ मा केकी अभिनेत्री मात्र होइनन् निर्माणपक्षले निर्मात्री पनि बनाइदिएको छ ।
केही हप्ता अगाडी राजधानीमा चलचित्र ‘लभ साशा’ को ट्रेलर र गीत रिलिज कार्यक्रममा केकीको नाम एक्जुकेटिभ प्रोडुसरमा राखिएको थियो । जब यस विषयमा पत्रकारले केकीलाई प्रश्न गरे तब उनी ‘अक्क न वक्क’ भईन । त्यस बेला केकीको एक्प्रेसन हेर्दा लाग्थ्यो उनलाई जानकारी नै नदिई निर्माणपक्षले एक्जुकेटिभ प्रोडुसरमा नाम राखेको हो । केकीले यस विषयमा जबाफ फर्काउनु भन्दा अगाडी नै निर्माता माधव वाग्लेले ठट्यौली गर्दै भने -‘सबैको लगानी भएपछि मज्जा आउँछ भनेर हो । लगानी भएपछि कलाकारले पनि मेहेनत गर्छन भनेर एक्जुकेटिभ प्रोडुसरमा केकीको नाम राखेका हौं ।’
त्यसपछि चलचित्र ‘लभ साशा’ का निर्देशक प्रचण्डमान श्रेष्ठले केकी अधिकारीको नाम एक्जुकेटिभ प्रोडुसरमा राख्नुको कारण खोले । उनले भने -‘यो कुरा सबैलाई थाहा छ कि अन्तर्राष्ट्रियस्तरमा केही कलाकार र प्राविधिकहरुको नाम चलचित्रको एक्जुकेटिभ प्रोडुसरमा राखिएको हुन्छ ।’
उनका अनुसार, चलचित्रले यदी नाफा कमाएको खण्डमा केही प्रतिशत रकम केकीलाई पनि जानेछ । निर्माणपक्षले चलचित्र ‘लभ साशा’ को एक्जुकेटिभ प्रोडुसरमा शिवराम श्रेष्ठ, केकी अधिकारी र चलचित्रका नायक कर्माको नाम राखेको छ ।