फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुट २’ मा समाबेश ‘ठमेल बजार’ बोलको आइटम गीतमा निर्देशक निश्चल बस्नेतले मोडल एलिसा राईसँग नृत्य गरेको त हेर्नु भएको नै छ होला । यो गीत हेरेपछि निर्देशक बस्नेत चलचित्र निर्देशनमा मात्र होइन नृत्यमा पनि उतिक्कै अब्बल छन् भन्ने पृष्टि गरेको थियो । ‘ठमेल बजार’ बोलको गीतमा निश्चलको नृत्य हेरेका दर्शकहरुले अब चाँडै ‘पर्व’ नामक चलचित्रको एक आइटम गीतमा पनि हट नायिका माला लिम्बुसँग कम्मर मर्काएको देख्न पाइने भएको छ । शुक्रबार मात्र चलचित्र ‘पर्व’ मा समाबेश ‘काले काले’ बोलको गीत खिचिएको थियो, जसमा निर्देशक निश्चल बस्नेतलले माला लिम्बुसँग कम्मर मर्काएका छन् ।माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । ‘काले काले’ बोलको आइटम गीतमा निश्चलले मालासँग नृत्य गर्नुको कारण यो पनि होकी उनी आफैैले यो गीतमा आवाज दिएका छन् । ‘काले काले’ बोलको यो गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ । ललितपुर च्यासल खेल मैदानको पछाडि सेट लगाएर यो गीतको छायांकन भैरहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । राजु पेन्टरले यो भव्य सेट तयार पारेका हुन् । आइतबारसम्म यो गीतको छायांकन हुनेछ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चैत्र २५ गते यो चलचित्र रिलिज हुनेछ । चलचित्रको यो गीतलाई चाडै नै दर्शकमाझ सार्वजनिक गरिनेछ । सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु भएको यो चलचित्रलाई ३५ दिन लगाएर खिचिनेछ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ र नायक तथा गायक कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।