पल शाह र आँचल शर्मा स्टारर मूभी ‘जोनी जेन्टलम्यान’ को आधिकारीक रिलिज घोषणा गरिएको छ । आइतबार राजधानीमा चलचित्रको ‘तिमी बिना मान्दैन’ बोलको भिडियो सार्वजनिक गर्दै निर्माण कम्पनी ‘योर स्टाइल पिक्चर’ र ‘एजी इन्टरटेन्मेन्ट’ ले अर्को बर्षको जेठ १९ गतेलाई रिलिज डेट लक गरेको हो । भारतको गोवा, सिलगुढी लागयतका स्थानमा खिचिएको ‘तिमी बिना मान्दैन’ बोलको भिडियोमा पल र आँचल फिचरिङ छन् । मनमोहक लोकशनमा कैद गरिएको भिडियोमा पल र आँचलको केमेष्ट्री पनि गज्जबले जमेको छ । गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ ।
गीत रिलिज र रिलिज डेट घोषणा कार्यक्रममा बोल्दै निर्देशक नीतिन चन्दले चलचित्र पूर्णतया कमेडी, एक्सन, लभस्टोरी बेशमा निर्माण भएको बताए । त्यस्तै, चलचित्रका दुई लिड कलाकार पल र आँचलले चलचित्रमा आफुहरुले निकै मिहिनत गरेका बताउँदै ‘जोनी जेन्टलम्यान’ ले दर्शकको मन जित्ने दाबी गरे । चलचित्रले नायक पल शाह लफङ्गा टाइपको केटाबाट कसरी सबैका लागि प्रेरणाको पात्र बन्छन् भन्ने देखाउन खोज्ने छ । चलचित्रमा पलको प्रेमिकाको भूमिका आँचलले प्ले गरेकी छिन् । हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रलाई एन्ड्रिउ पौडेलले निर्माण गरेका हुन । चलचित्रका कार्यकारी निर्माता अजय मल्ल हुन् ।
पल र आँचलको जोडीलाई यसअघि दर्शकहरुले चलचित्र ‘नाई नभन्नू ल ४’ मा देखेका थिए भने दर्जनौं म्यूजिक भिडियोमा समेत उनीहरुले काम गरेका छन् । बजारमा उनीहरुको अफेयरको हल्ला पनि उतिक्कै चलिरहेको छ ।