काठमाडौं । थुप्रै फिल्ममा सहायक भूमिकामा देखिने गरेका कलाकार कमलमणि नेपाल अब शीर्ष भूमिकामा देखिने भएका छन् । उनको भूमिका लखपति माग्नेको हुनेछ । हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको फिल्म ‘लखपति माग्ने’मा कमलमणि लखपति माग्नेको चरित्रमा देखिन लागेका हुन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को पोष्टर सार्वजनिक गरिन् । उनले फिल्मको निर्देशक सवनम मुखियालाई शुभकामना दिदै नाम नै युनिक भएकोले दर्शक समक्ष जान सजिलो हुने बताइन् । कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मा, लेखक÷निर्देशक मोहन निरौला, ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेललगायतले फिल्मलाई शुभकामना दिएका थिए ।
फिल्मकी निर्दशक सवनम मुखियाका अनुसार भदौ पहिलो सातादेखि फिल्म फ्लोरमा जानेछ । फिल्ममा अहिलेसम्म कमलमणि नेपाल र निरु खड्का मात्र कलाकारका रुपमा छानिएका छन् । फिल्ममा निरुले कमलको बहिनीको भूमिका निभाउनेछिन् । कमलले फिल्ममा आफूलाई दर्शकले फिल्मको शुरुवातदेखि अन्त्यसम्मै देख्न पाउने बताए । निरुले पनि आफूले राम्रा चरित्र पाएको जनाइन् ।
फिल्म हाँस्यरसमा आधारित रोमान्टिक हुने लेखक र निर्देशक सवनमले बताइन् । फिल्मका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुन् । कार्यक्रममा सवनमले नै निर्देशन गरेको सर्ट फिल्म ‘जुभिनाइल’को दुई गीत पनि सार्बजनिक गरिएको थियो । फिल्ममा कुमार गजुरेल, सञ्जना तिमल्सीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी, कवि राई आदि कलाकारहरुको अभिनय रहेको छ ।