मुम्बई(एजेन्सी) । नेपालीमा एउटा उखान चर्चित छ–आश लाग्दो केटा जेठाजु पर्यो । बलिउड अभिनेता शाहरुख खानका फ्यानका लागि यो उखान अहिले सत्य साबित भएको छ । हरेक वर्ष झैं यो वर्ष पनि शाहरुखको राम्रो फिल्म हेर्ने योजना बनाएका उनीहरुले पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ त हेरे, तर यो फिल्म उनीहरुका लागि जेठाजु नै बन्यो । फिल्मको एक हप्ताको कलेक्सनलाई हेर्ने हो भने शाहरुख दर्शकका लागि जेठाजु नै बनिदिएका छन् । फिल्मको तीन दिनको कलेक्सनलाई जोड्दा ५० करोड पनि पुर्याउन सकेन ।
इम्तियाज़ अली निर्देशित फिल्मले पहिलो दिन बक्स अफिसमा १५ करोड २५ लाख रुपैंयाँको कलेक्सन गरेको थियो । पहिलो दिनको कलेक्सनबाट नै यो फिल्मले अब कति पैसा उठाउँछ भन्ने चिन्ता शुरु भईसकेको थियो । फिल्मको व्यापार विश्लेषकले शनिवार र आइतबारको विदाको फाइदा फिल्मले राम्रै उठाउँछ भन्ने सोचेका थिए । तर त्यो सोचाई वास्तविकतामा आएन । फिल्मको पहिलो हप्ता ४५ करोड ७५ लाखको कारोबार गर्दै सकिएको छ । आइतबार फिल्मले १५ करोड ५० लाख मात्र व्यापार गर्यो । रिलिजको तीन दिनसम्म फिल्मको दैनिक कलेक्सन १६ करोड पनि पुग्न सकेन ।
बलिउड विश्लेषकहरुले शाहरुखको होम प्रोडक्सनको यो फिल्मलाई ‘फ्लप’ भनी घोषणा गरिसकेका छन् । यो फिल्म शाहरुख अभिनित पछिल्लो फिल्ममा सबैभन्दा कम विकेन्ड कलेक्सन भएको फिल्म पनि बनेको छ ।
ऋतिक रोशनको फिल्म ‘काबिल’सँग भिड्दा पनि शाहरुखको फिल्म ‘रईस’ले बक्स अफिसमा पहिलो तीन दिन ५९ करोड ८३ लाख रुपैंयाँ कलेक्सन गरेको थियो । यशराजको व्यानरमा बनेको शाहरुखको दोहोरो भूमिका रहेको फिल्म ‘फैन’ले बक्स अफिसमा उत्कृष्ट व्यापार नगरे पनि पहिलो हप्तामा ५२ करोड ३५ लाख रुपैंयाँ कलेक्सन भएको थियो ।
रोहित सेठ्ठी निर्देशित फिल्म ‘दिलवाले’ले सञ्जय लिला भन्सालीको ‘बाजीराव मस्तानी’सँग भिड्दा पनि पहिलो तीन दिनमा ६४ करोड ९ लाख व्यापार गरेको थियो । फिल्म ‘ह्याप्पी न्यू इयर’को तीन दिनको कलेक्सन १ सय ८ करोड ८६ लाख र ‘माइ नेम इज खान’को कलेक्सन सबैभन्दा कम ३० करोड थियो ।