काठमाडौं । फिल्ममा अभिनय गर्दा जोकोही कलाकारलाई पनि अधिकांश निर्देशकले शरीरको तौल घटाउन आग्रह गर्छन् । खास गरी फिल्मको कथा अनुसाार उनीहरुले आफ्नो शरीर कहिले घटाउने त कहिले बढाउने गर्दछन् । आगामी कार्तिक ९ गते छठ पर्वको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘ऐश्वर्य’मा पनि यस्तै एउटा संयोग परेको छ ।
फिल्ममा प्रमुख भूमिकामा देखिएकी नायिका केकी अधिकारीको शरीरको तौल फिल्मका निर्माता तथा कलाकार रमेश उप्रेतीले घटाइदिएका छन् । यो कुरा केकी र रमेश दुवैले स्वीकारेका पनि छन् । ‘फिल्मको कथा अनुसार मैले शरीरको तौल घटाउनु पर्ने थियो । म बिहान उठ्न नै अल्छी गर्थे,’केकीले भनिन्,‘तर रमेश दाईको निगरानीले उठाईमा ढिलो हुने काम बन्द भयो । उहाँको अन्डरमा रहेर मैल्े कम खाने र जिम जाने बानी गरें ।’
निर्माता तथा कलाकार रमेशले पनि कथा अनुसार आफूले केकीको ज्यान घटाइदिएको खुलाए । ‘सुटिङका समयमा पनि केकीले के के खाने र के के नखाने भन्ने नियम थियो । फिल्मको माग अनुसार केकीलाई त्यो काम गर्न लगाएका हौं ।’ रमेशले भने ।
नायिका केकीले आफूले यसअघि फिल्म ‘मसान’को समयमा तौल बढाएको स्मरण गरिन् । ‘तौल बढाउन खानेकुरा खानु पर्दा निकै रमाइलो लागेको थियो । तर तौल घटाउन चाहिँ निकै सास्ती व्यहोर्नु पर्ने रहेछ ।’ केकीले भनिन् । दिवाकर भट्टराई निर्देशित फिल्ममा प्रशान्त ताम्राकार, दीपिका प्रसाईलगायतको पनि अभिनय छ ।