अभिनेत्री केकी अधिकारीका लागि एउटा हिट फिल्मको आवश्यकता छ । किनकी, करिअर यति लामो दौरानमा केकीका लागि कुनै पनि फिल्मले हिट सावित गराउन सकेका छैनन् ।
तर, बिहिबारबाट रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले केकीलाई एउटा भएपनि हिट फिल्मकी अभिनेत्री भन्ने उपाधि दिन सक्थ्यो । तर, यसपटक यो कुरामा केकी चुकेकी छिन् ।
फिल्म ‘ऐश्वर्य’ हेरेका दर्शकले अभिनेत्री केकी अधिकारीको भूमिकाको निकै प्रशंसा गर्छन् । फिल्मको दोश्रो हाफ केकीले नै होल्ड गरेकी छिन् । फिल्ममा केकीको आगमन भएपछि दर्शक अझ रमाउँछन् । यसैले पनि केकीले यो फिल्मबाट राम्रै क्रेडिट लिन सक्थिन् ।
तर, दुर्भाग्य फिल्मको सुरुवाती प्रचार सामाग्रीमा आफूलाई स्थान नदिएको भन्दै केकी फिल्मको प्रचारमा नै हिडिनन् । फिल्मको प्रचार अन्तिम अवस्थामा पुग्दा मात्र दर्शकले उनलाई फाट्टफुट्ट रुपमा देखेका थिए ।
केकीले फिल्मको प्रचारमा राम्रो साथ दिएर अगाडि बढेको भए उनलाई फाइदा हुने थियो । तर, केकी नहिड्दा फिल्म चल्नुको जस नव–अभिनेत्री दीपिका प्रसाइको हातमा गएको छ ।