कुनै पनि फिल्मको गीत, भिडियो वा म्यूजिक भिडियो ट्रेन्डिङमा पर्नु भनेको सफलता नै मानिन्छ । नेपाली फिल्मका निर्माता, संगीतकार वा निर्देशकलाई गीत ट्रेन्डिङमा आउँदा फिल्मले सफलता कायम गर्छ भन्ने आत्मविश्वास हुन थालेको छ ।
यसैले, मिडियामा पनि अहिले युटुबमा १ नम्बरको ट्रेन्डिङमा पर्ने गीतको समाचारले राम्रै स्थान जमाएका हुन्छन् । ३ दिन अगाडि रिलिज भएको फिल्म ‘कान्छी’को ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतले पनि युटुबमा नेपाल ट्रेन्डिङको नम्बर १ स्थान कब्जा गरेको छ ।
राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत, अन्जु पन्तको आवाज रहेको गीतको भिडियोलाई दर्शकले रुचाएका छन् । यो समाचार तयार पार्दासम्म यो गीत करिब साढे ९ लाख पटक हेरिएको छ ।
आकाश अधिकारी निर्देशित फिल्ममा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ । यो फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ ।