फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर यसको निर्माण टोलीले सार्वजनिक गरेको हो । फिल्मको कथा धेरै मात्रामा खुलाउँदै ट्रेलर तयार पारिएको छ । यो फिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका छन् ।
प्रदिप भट्टराइले निर्देशन गरेको फिल्ममा मह जोडीको साथमा दीपकराज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।
फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।
यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्मले पूर्ण रुपमा मनोरञ्जन पस्कने यसका निर्देशक भट्टराई बताउँछन् । फिल्ममा पल र आँचलको प्रेममा अर्का कलाकार दीपकराज गिरी खलपात्र बनेको देखाइएको छ । चैत्र ९ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।