कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछि सरेको छ। वितरकहरुसँगको सल्लाह अनुसार फिल्मको रिलिज डेटमा हेरफेर गरिएको फिल्मका निर्देशक हरी हुमागाईले बताएका छन्।

उनले भने, ‘हामीले घोषणा गरेको मितीमा एकसाथ अन्य धेरै फिल्म हुनेभएपछी र पछिल्लो समयको बदलिदो रिलिज डेटको अवस्थाले गर्दा आपसी सल्लाहमै यसको हेरफेर गरिएको हो।’ अब भने फिल्म कार्तिकको २९ गते रिलिज हुनेछ।
फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भइसकेको छ भने भि–टेनको गीतलाई सार्वजनिक गर्ने तयारीमा टिम छ। म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन्।
सार्वजनिक ट्रेलरमा सुमी मोक्तान एक्सन अवतारमा छिन् भने लियो ट्यांक र सन्नी सिंह पनि फिचर्ड छन्। फिल्ममा आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ। विजय, युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ। फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन रहेको छ। राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको फिल्मको गीतमा राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांगको स्वर दिएका छन्।