
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ८ करोड ७२ लाख ग्रस कलेक्सन गरेको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा छलाङ मारेको हो।
निर्देशक पन्तले भोली शनिबार अझै दर्शक बढ्ने आशा रहेको बताए । ‘फिल्मको कथामा आमा बुबा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका कथा भएर पनि होला धेरै दर्शकलाई छोएको छ। अधिकांश दर्शकले आफ्नै कथा हो भनिरहनु भएको छ। त्यसले पनि होला दर्शकको माया पाइरहेका छौँ,’ उनले भने ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै रहेको छ। फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतम लगायतको मुख्य भुमिका रहेको छ। फिल्मका निर्माता कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन्। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।







