
मुम्बई(एजेन्सी) । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामलामा तिहाड जेलमा छन् । समाचारअनुसार सुरुवाती २४ घण्टामा उनी निकै शान्त थिए । तर अब उनी जेलका अन्य कैदीसँग घुलमिल भइसकेका छन् । उनी कैदीको माग अनुसार कमेडी संवाद सुनाइरहन्छन् ।
राजपाल जेल नम्बर २ मा छन् । उनको दैनिकी अन्य कैदीसरह ने छ । बिहान व्यारेकबाट बाहिर निस्कनु, फ्रेस भएपछि खाजा खानु र साँझ ७ बजे खाना । उनी राती १० बजे सुतिसक्छन् र बिहान ५–६ बजे उठ्छन् । उनलाई कुनै पनि प्रकारको भीआईपी सुविधा दिइएको छैन ।
जेलको नियम अनुसार अन्य कैदीले जुन मेन्यू पाएका छन्, राजपालले पनि त्यही पाएका छन् । जसमा दाल, सब्जी, रोटी र चामल छन् ।
जब कोही कैदी उनलाई जेल आउने कारण सोध्छन्, उनी कुरा नलुकाई बताउँछन् । उनले कैदीलाई राम्रो समयमा सबैको साथ हुने र खराब समयमा निकै कमको मात्र साथ मिल्ने बताउने गरेका छन् । उनले आफूले कुनै बेइमानी नगरे पनि समयले त्यस्तो बनाएको बताउने गरेका छन् ।






