सेलिब्रेटीहरुको गर्लफ्रेण्ड/व्वायफ्रेण्ड हुनु वा ब्रेकअप हुनु अनौठो होइन । अहिलेको समयमा यसलाई साधारण रुपमा लिइन्छ । तर पर्दामा देखिने कलाकारहरु कोहीसँग प्रेममा छन् भने त्यसले राम्रै चर्चा पाउँछ । किनकी उनीहरुको विषयमा प्रशंसकहरु पनि प्रत्येक कुराहरु जान्न चाहन्छन् । अझ अविवाहित कलाकारहरुको मामिलामा त दर्शकहरु झन इच्छुक हुन्छन् कि उनीहरु कसैसँग रिलेशनसिपमा छन् वा छैनन् भन्ने थाहा पाउन । तर अविवाहित कलाकारहरु कोहीसँग रिलेशनसिपमा छन् भने पनि खासै बताउन चाहँदैनन् किनकी यसले गर्दा प्रशंसकहरु घट्ने सम्भाबना बढी हुन्छ । तर मिडियाहरुले उनीहरुको लभ लाइफको विषयमा समाचार प्रकाशन गर्दा एक पटक उनीहरुका प्रशंसकहरु नै आश्चर्यमा पर्ने गर्छन् ।
अविवाहित कलाकारहरुले आफ्नो प्रेम प्रेमिका सार्वजनिक गर्दा करियर नै धराप भएका उदारहणहरु नेपाली चलचित्र क्षेत्रमा नै प्रशस्त छन् । प्रेम प्रेमिका सार्वजनिक गरेपछि चलचित्रका निर्माताहरु उनीहरुलाई आफ्नो सिनेमामा लिनका लागी नाक खुम्चाउने गर्छन किनकी चलचित्र निर्माण गर्दै गर्दा प्रेम प्रेमिकाकै कारण पनि चलचित्र निर्माणमा ढिलाई, पव्लिसिटीमा कम सक्रियता र कहिले त चलचित्रको छायाँकन समेत पनि रोक्नु पर्ने अबस्था आउँछ । त्यसैले पनि निर्माताहरुले कोही कलाकार प्रेम सम्बन्धमा छन् भने निकै सोच विचार गरेर मात्र फाइनल गर्ने गरेका छन् ।
त्यस्तै गएको बर्ष अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ मा काम गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह पनि एक यूवकसँगको प्रेम सम्बन्धमा रहेको खबर हालै नेपाली मिडियाहरुमा भाइरल बनिरहेको छ । हिजो शुक्रबारबाट २१ बर्षमा लागेकी साम्राज्ञी अहिले मयंक खड्कासँगको प्रेममा रमाइरहेकी छिन् । जन्मदिनको दिन आफ्नो फेसबुकमा साम्राज्ञीले आफ्नी आमा र मयंक खड्कासँगको तस्बिर शेयर गरेकी थिइन् । फोटोसँगै उनले ‘दिनहरु बल्ल सुरु भए’ भन्दै स्टाटस पनि लेखेकी छिन्, जसबाट यो कुराको अनुमान सजिलै लगाउन सकिन्छ कि साम्राज्ञी मयंकसँग गहिरो प्रेममा छिन् ।
प्राप्त जानकारी अनुसार, पेशाले डीजे रहेका मयंक र साम्राज्ञी केहि बर्षदेखि प्रेममा छन् । साम्राज्ञीले अपलोड गरेको फोटो हेर्दा यो पनि सजिलै अनुमान लगाउन सकिन्छ कि मयंक र साम्राज्ञी एकअर्काको परिवारसँग निकै परिचित छन् । चैत १८ गते साम्राज्ञी अमिनित चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउँदैछ ।