‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकी अधिकारी अहिलेकी व्यस्त नायिका हुन् । एकपछि अर्को गर्दै नेपाली चलचित्रमा व्यस्त नायिका केकी अधिकारीले अभिनय गरेका धेरै जसो चलचित्रहरु भने नेपाली बक्सअफिसमा खासै सफल छैनन् । अधिकांश चलचित्रहरु असफल भएपछि उनको माग भने दिन प्रतिदिन बढ्दै गएको छ ।
केही दिन अगाडी पहिलो पटक नायक दयाहाङ राईसँग चलचित्र ‘घामपानी’ को छायाँकन सकाएकी नायिका केकीको चाँडै प्रतिक्षित मानिएको चलचित्र ‘लभ सासा’ प्रदर्शनमा आउँदैछ । योसँगै अहिले उनी रमेश उप्रेतीको निर्माण र अभिनयमा तयार हुँदै गरेको चलचित्र ‘ऐश्वर्य’ को छायाँकनमा व्यस्त छिन् । ऐश्वर्यमा उनी रानीको भुमिकामा छिन्, जसले दुख भन्ने कुरा महशुस समेत गरेकी छैनन् । उनले ‘ऐश्वर्य’ मा आफ्नो भुमिका अहिलेसम्म गरेका अन्य चलचित्र भन्दा फरक रहेको बताएकी छिन् । ‘सिनेखबर डटकम’ सँगको विशेष कुराकानीको क्रममा उनले आफु लगातार चलचित्रको काममा व्यस्त हुँदा खुसी लाग्ने बताइन् । उनले आफ्नो कारणले चलचित्र हिट वा फल्प नहुने बताउँदै भनिन्, ‘एउटा कलाकारको हातमा हुँदैन चलचित्र हिट हुने वा नहुने भन्नेमा । त्यसका लागी चलचित्र आफैमा राम्रो हुनु पर्छ । मेरो प्रयास सधै यो रहन्छ कि मैले पाएको भुमिकालाई कसरी न्याय गर्ने भन्नेमा । म लक्की ठान्छु कि मेरो चलचित्रहरु नचल्दा पनि दर्शकहरुले मलाई मन पराउनु भएको छ । मेरो भुमिकालाई रुचाउनु भएको छ । म मेहेनत गरिरहेको छु कि आगामी दिनमा हिट चलचित्र दिन सकुँ ।’
उनले आफ्नो प्रतिस्पर्धा नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा, निशा अधिकारी, नम्रता श्रेष्ठ लगायतसँग रहेको पनि बताइन् ।
सोही क्रममा उनले आफु अहिले सिंगल रहेको पनि बताउन भ्याइन् । उनले अगाडी भनिन्, ‘म विवाहको लागी कुरिरहेकी छु । २/३ बर्षमा चाहिँ तपाईहरुले मलाई विवाहित महिलाको रुपमा पाउनु हुन्छ ।’ उनले अहिलेको समयमा व्वायफ्रेण्ड हुनु र ब्रेकअप हुनु सामान्य रहेको पनि बताएकी छिन् ।
मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु केकीले अभिनय गरेका सिनेमाहरु हुन् । केही समय अगाडी उनले थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा पनि अभिनय गरेकी थिइन् ।