यस बर्षको भदौ १० गते प्रदर्शनमा आएको चलचित्र हो ‘शकुन्तला’ । जुन चलचित्रमा नायक राजेश हमाल पहिलो पटक नारी अवतारमा प्रस्तुत भएका थिए । यो चलचित्रबाट निर्माणपक्षसँगै राजेश हमाल पनि पूर्ण रुपमा विश्वस्त थिए कि दर्शकहरुले हमालको नारी अवतार रुचाउँछन् भनेर तर चलचित्रले नेपाली बक्सअफिसमा खासै कमाल गर्न सकेन । तर नायक राजेश हमालको नारी अवतारलाई भने सबैले रुचाए । तर हमाल आफैले आफ्नो चलचित्र ‘शकुन्तला’ हेर्न भ्याएका थिएनन् । चलचित्र ‘शकुन्तला’ रिलिजको बेला उनी अमेरिकामा थिए र नेपाल फर्किएपछि उनी नेपाल टूरमा निस्किए । त्यसैले पनि उनले ‘शकुन्तला’ हेर्न समय पाएका थिएनन् । आफुलाई पहिलो पटक पर्दामा नारीको अवतारमा हेर्न मन हमाल स्वयंमलाई थियो तर कार्यव्यस्तताका कारण त्यो अवसर जुरेको थिएन । तर चलचित्र ‘शकुन्तला’ हलबाट उत्रिएको झण्डै ३ महिनापछि हमालले सिनेमा हलमा नै गएर चलचित्र ‘शकुन्तला’ हेरेका छन् । हमाल एक्लै होइन आफ्नो श्रीमानको नारी अवतार हेर्न श्रीमती मधु भट्टराई पनि साथ पुगेकी थिइन् । ‘शकुन्तला’ चलचित्रका निर्देशक दिनेश श्रेष्ठका अनुसार बिहिबार साँझ बागबजारको सिटी म्याक्स हलमा हमाल दाम्पत्यसँगै अमेरिकाका एनआरएन प्रिन्स यूवराज कार्कीले पनि चलचित्र ‘शकुन्तला’ हेरेका छन् । सिनेखबर डटकमलाई प्राप्त जानकारी अनुसार, श्रीमान हमालको नारी अवतार हेरेपछि मुध भट्टराई निकै खुसी देखिएकी थिइन् भने हमालले पनि आफुलाई नारी अवतार सुहाएको महशुस गरेका थिए ।
हमाल जोडी पहिलो पटक सिनेमा हलमा गएर नेपाली चलचित्र हेरेको यो पहिलो पटक हो । यसअघि अहिलेसम्म हमाल जोडी एकसाथ सिनेमा हलमा गएर चलचित्र हेरेको खबर प्राप्त छैन ।