केही महिना अगाडी एउटा खबर निकै भाइरल भएको थियो कि बलीउड चलचित्र ‘भुतनाथ’ निर्देशक विवेक शर्माले नेपाली चलचित्र ‘मेरो पैसा खोई ?’ निर्देशन गर्दैछन् । धेरैले यो कुरालाई पत्याएनन् तर विवेक शर्मा नेपाली निर्माता रोज राणासँग मिलेर चलचित्र ‘मेरो पैसा खोई ?’ निर्देशन गर्ने अन्तिम तयारीमा छन् । यो चलचित्रका लागि कलाकार समेत फाइनल भइसकेका छन् । यसबाट पनि के थाहा हुन्छ भने विस्तारै बलीउड चलचित्रकर्मीहरुको नजरमा पनि नेपाली चलचित्रले स्थान पाउन थालेका छन् ।
त्यस्तै, नेपाली कलाकार सुनिल थापाले बलीउड अभिनेत्री प्रियंका चोपडासँग चलचित्र ‘मेरी कोम’ मा काम गरेपछि त झन बलीउडका धेरै कलाकारहरुको ध्यान नेपाली चलचित्रतर्फ पनि बढ्दै गएको देख्न सकिन्छ । बलीउड अभिनेता शत्रुधन सिन्हादेखी आमिर खानले सम्म राम्रो कथा भेटे नेपाली चलचित्रमा काम गर्ने इच्छा राखिसकेको अबस्थामा बलीउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण नै गर्ने भएकी छिन् । केही दिनदेखी भारतीय मिडियामा भाइरल भएको समाचारलाई आधार मान्ने हो भने प्रियंकाले आफ्नै होम प्रोडक्शन पर्पल पेबलबाट नेपाली चलचित्र निर्माण लागेकी हुन । चलचित्रको नाम ‘पौवा’ राखिएको छ, जसको नेपाली अर्थ हुन्छ ‘पाहुना’ । हुनत, यसअघि पनि प्रियंकाले आफ्नो होम प्रोडक्शनबाट मराठी चलचित्र ‘भेन्टिलेटर’, भोजपूरी चलचित्र ‘बम बम बोल हा है’ निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी चलचित्र ‘श्रावण’ निर्माण गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ । भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार प्रियंकाकी आमा मधु चोपडाले सिक्किम बेस्ड नेपाली चलचित्र बनाउन लागेको बताएकी छिन् । चलचित्रमा नेपाल र सिक्किमका स्थानिय कलाकारहरुको अभिनय रहनेछ ।
मधु चोपडाले एक अन्तर्वार्ताको क्रममा भनेकी छिन्, ‘यो एक सिक्किम बेस्ड नेपाली चलचित्र हो । जुन चलचित्रको नाम हामीले पौवा राखेका छौ जसको अर्थ हुन्छ पाहुना । यो चलचित्रको कथाले राजनीतिक अस्थीरताको कारण कसरी आफ्ना बाबुआमाबाट छोरा छोरी छुटिन्छन् भन्ने देखाउन खोज्नेछ ।’
भारतीय भिडियाहरुमा अहिले यो खबर निकै भाइरल बनिरहेको छ । अब यसमा सत्यता चाहिँ कति छ त्यो भने समयले नै देखाउँला ।