यस बर्ष नायक निखिल उप्रेती अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् । कमब्याक चलचित्र ‘भैरव’ पछि उनी अभिनित चलचित्र ‘लुटेरा’ प्रदर्शनमा आएको थियो तर त्यसपछि उनका अरु कुनै पनि चलचित्र हलमा लागेका छैनन् । अब उनी अभिनित चलचित्र ‘किङ’ भने यही पुष २८ गते बिहिबारबाट प्रदर्शनमा आउँदैछ । निखिलका लागि यो चलचित्र यो बर्षका लागि पहिलो रिलिज हो । त्यसैले पनि निखिलसँगै दर्शकहरुका लागि अहिले यो चलचित्र प्रतिक्षित बनिरहेको छ । तर, चलचित्र ‘किङ’ को प्रचारमा निखिलले खासै वास्ता देखाएका थिएनन् ।
केही दिन अगाडी राजधानीमा निर्माणपक्षले एक कार्यक्रमको आयोजना गरेको थियो त्यसमा पनि निखिल उपस्थित नहुँदा कतै निर्मातासँग उनको सम्बन्ध विग्रिएको त होइन ? भन्ने खाल्का टिकाटिप्पणी पनि चलेको थियो तर हालै निखिल उप्रेतीले अब चलचित्र ‘किङ’ को प्रचारमा आफु दिलोज्यान दिएर लाग्ने बताएका छन् । निखिल आफ्नो होम प्रोडक्शनको चलचित्र ‘रुद्र’ को छायाँकनमा व्यस्त भएका कारण ‘किङ’ को प्रचारमा समय दिन सकेका थिएनन् । उनले ‘रुद्र’ को छायाँकन सकिएका कारण मंगलबारबाट चलचित्र ‘किङ’ को प्रचारमा दौडिएको बताए ।
निखिल आफ्नो होम प्रोडक्शनको चलचित्र रुद्रको छायाँकनमा व्यस्त हुँदा ‘किङ’ निर्मातालाई भने गाह्रो परिहेको थियो कि कतै निखिल प्रचारमा नहिँड्ने त होइनन् । तर, मंगलबारदेखी नायक उप्रेतीले ‘किङ’को पव्लिसिटीमा समय दिने भनेपछि अब भने निर्माताहरुलाई पनि ठूलै सहयोग मिलेको छ । किनकी निखिलले चलचित्रको विषयमा केही बोले भने मात्र पनि दर्शकहरु हलसम्म जाने गर्छन ।
यो चलचित्रमा निखिलका अलवा वेनिशा हमाल, अनुप विक्रम शाही, प्रज्वल सुरज गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् । यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन ।