चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ को अष्ट्रेलिया राइट विक्री भएको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्ट र अष्ट्रेलियास्थित नमस्ते इन्टरटेनमेन्टबीच यस्तो सहमति भएको हो । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘ह्याप्पी डेज’ पोस्टप्रोडक्सनमा छ भने ‘ब्लाइन्ड रक्स’ को चाँडै छायांकन हुँदैछ । चाम्स इन्टरटेनमेन्ट प्रमुख एवं निर्देशक मिलन चाम्स र नमस्ते इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक विनोद पौडेलले आइतबार मात्र सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ लाई समेत नमस्तेले अष्ट्रेलियाको लागि अष्ट्रेलिया राइट्स किनेको थियो । चाम्सका अनुसार, ‘ह्याप्पी डेज’ लाई सम्भवतः अगस्ट र ‘ब्लाइन्ड रक्स’ लाई त्यस पछाडि अष्ट्रेलिया रिलिज गरिनेछ । यी दुई चलचित्रको अष्ट्रेलिया राइटको मूल्यबारे नखुलाइएपनि उच्च मूल्यमा खरिद भएको जानकारी चाम्सले दिए । चलचित्र ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन र रितेश चाम्सको अभिनय छ । त्यस्तै छायाँकन हुने तयारीमा रहेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन, गौरी मल्लको मुख्य भूमिका छ । दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमाथि यो चलचित्र बन्नेछ ।