भारतको जिटिभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स-२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरले फेरी अर्को भारतीय टेलिभिजन च्यानल कर्लसबाट प्रशारण हुँदै आएको ‘झलक दिखला जा’ सिजन ९ को पनि ट्रफी उचालेकी छिन् । शनिबार साँझ नेपाली समय अनुसार १० : ४५ बाट कर्लस च्यानलमा सुरु भएको ग्राण्ड फिनालेमा बलीउडस्टार सलमान खानले ‘बिग बोस’ को घरमा ‘झलक दिखला जा’ विजेताको नाम घोषणा गरेका थिए । सलमानले नै तेरियालाई ‘झलक दिखला जा’ सिजन ९ को विजेता घोषणा गर्दै ट्रफी प्रदान गरे । ‘झलक दिखला जा’ को विजेता तेरिया हुँदा सानतनु माहेश्वरी भने दोस्रो भए । तेरियाले ट्रफीसँगै नगद भारु. ३० लाख तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गरेकी छिन् । उनले यो उपाधि जितेको खबर हिजो शुक्रबार साँझ नै भारतीय मिडियाहरुसँगै नेपाली मिडियाहरुमा राम्रै भाइरल बनेको थियो ।
तेरियाले ‘झलक दिखला जा’ सिजन ९ को ग्राण्ड फिनालेमा आफ्ना डान्स पार्टनर आर्यनसँग बलीउड चलचित्र ‘एविसिडी २’ मा समाबेश ‘सुन साथिया’ बोलको गीतमा नृत्य प्रस्तुती दिएकी थिइन । ‘झलक दिखला जा’ सिजन ९ मा तेरियाले दिएको अन्तिम धमाकेदार प्रस्तुतीलाई आफ्नो चलचित्र ‘काबिल’ को प्रमोशन गर्न सोमा उपस्थित भएका बलीउड अभिनेता रितिक रोशनले पनि खुलेरै तारिफ गरेका थिए । ग्राण्ड फिनालेमा तेरियाले गरेको धमाकेदार प्रस्तुती र आफ्नो दुई प्रतिस्पर्धी सलमान खान र सानतनु माहेश्वरीलाई एसएमएस भोटिङमा समेत पछार्र्दै उनले ‘झलक दिखला जा’ को ट्रफी जितेकी हुन । डान्स प्रतियोगिता विजेताबीच प्रतिस्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । सन् २०१४ को जी टीभीको ‘डीआईडीमा’ एकलाख बढी प्रतिस्पर्धीलाई पछाडि पारेकी तेरिया डीआईडी विजेताका तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनौट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । ग्राण्ड फिनालेमा अन्तिम प्रस्तुती दिएकी तेरियालाई शोका निर्णयकहरुले ४० अंकमा ३८ अंक दिएका थिए । जस मध्ये ज्याकलिन फर्नान्डिज र गणेश हेजले १०/१० अंक दिएका थिए भने करण जोहर र फराह खानले ९/९ अंक दिएका थिए । गत शनिबारको एपिसोडमा भने उनले निर्णायकका तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । त्यस्तै, तेरियाका कडा प्रतिस्पर्धी मानिएका सलमान खानले ग्राण्ड फिनालेमा निर्णायकहरुबाट ४० अंकमा ४० पाएका थिए भने सानतनु माहेश्वरीलाई निर्णायकहरुले ४० अंकमा ३८ दिएका थिए । तेरियाले जनताहरुको मत आफ्ना दुई प्रतिस्पर्धीहरुभन्दा बढी पाएका कारण ‘झलक दिखला जा’ को ट्रफी हात पारेकी हुन । तर, कर्लस च्यानलले तेरियाले जनताहरुको कति मत प्राप्त गरिन् त्यो भने खुलाएको छैन । यो शोमा निर्णायकहरुको ५० प्रतिशत र जनताहरुको ५० प्रतिशत भोट मिलाएर विजेता घोषणा गर्ने गरिन्छ ।
फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । फाइनलमा रहेका तीन जनामध्ये नृत्यमा तेरिया अगाडि थिइन् । यो प्रतियोगितामा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज निर्णायक थिए । तेरियाका डान्स कोरियोग्राफर ऋषिकेश हुन् ।
डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झन्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् ।