हालसम्म नेपाली चलचित्रको कुनै पनि अडियो वा भिडियो गीतलाई दर्शकहरुले युटयुबमा करोड पटक हेरेको पाइएको छैन । चलचित्रका धेरै गीतहरु युटयुबमा हिट भएपनि करोडको भ्युअर्स पाउनु चानचुने कुरा होइन । तर, नेपाली गीतसंगीतको इतिहासमै पहिलो पटक चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली’ बोलको गीतले इतिहास नै रच्यो । यो गीतले यसै बर्षको भदौ ९ गते युटयुबमा करोड बढी भ्युअर्स पायो । यसअघि युटयुबमा कुनै चलचित्रका गीतले यो रकेर्ड बनाउन सकेका थिएनन् ।
यो गीतमा राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर थियो भने भने अञ्जु पन्तले पनि स्वर दिएकी थिइन । यसको झण्डै ५ महिनापछि ‘वडा नम्बर ६’ निर्माण गरेकै टीमले तयार पारेको चलचित्र ‘छक्का पन्जा’ मा समाबेश ‘पूर्व पश्चिम रेल’ पनि युटयुबमा १ करोड पटक हेरिने गीतको सूचीमा दर्ता भएको छ । यो गीत ५ महिनाको अवधीमा करोड पटक हेरिएको हो । यो गीत अहिलेपनि चिया पसलदेखी गाउँघरमा दैनिक जसो दर्जनौ पटक बज्ने गर्छ । नृत्यका लागि दर्शकहरुले बढी जसो यो गीतलाई प्रयोग गरेको पाइन्छ । ‘पूर्व पश्चिम रेल’ पनि युटयुबमा करोडमाथीको भ्युअर्स पाएपछि निर्माणपक्षले सम्पुर्ण दर्शकहरुलाई धन्यवाद व्यक्त गरेको छ । चलचित्र क्का पन्जा केही हप्ता अगाडी मात्र १६ करोडको विजनेश गर्दै सय दिन मनाएको थियो । ‘पूर्व पश्चिम रेल’ बोलको गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने राजनराज सिवाकोटीकै संगीत रहेको छ ।